धरान । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भएको घटनामा संलग्न रहेको आरोपमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।

यसअघि वडाध्यक्ष पनि पक्राउ परिसकेका छन् । चौरजहारी–८ सोतीमा जाजरकोटको भेरी नगरपालिकाका नवराज विकसहित ६ जना बेपत्ता बनेका थिए । हालसम्म ४ जनाको शव फेला परिसकेको छ । अझै केही बेपत्ता छन् । सोतीकी एक मल्ल थरकी युवतीलाई गत शनिबार लिन हिँडेका उनीहरूबीच स्थानीय गाउँलेबीच झगडा भएको थियो । उनीहरू १९ जनाको समूहमा गएको स्थानीयले पुष्टि गरेका छन् ।

चौरजहारीका वडाध्यक्षसहित १२ जनालाई सोमबार नै नियन्त्रणमा लिइएको थियो भने थप ६ जनालाई बुधबार नियन्त्रणमा लिएको हो । अझै २ जना फरार छन् । पीडितका आफन्तले २० जनाको नाममा किटानी जाहेरी दिएका थिए । यो विषय संसद्मा पनि उठेपछि गृहमन्त्रालयको सहसचिवको नेतृत्वमा ५ सदस्यीय सत्यतथ्य पत्ता लगाउने गरी छानबिन समिति बनेको छ ।

गाउँलेले लखेटेपछि उनीहरू ज्यान बचाउनका लागि भेरी नदीमा हामफालेका थिए । तर, पीडित पक्षले भने कुटपिट गरेर भेरी नदीमा फालिदिएको आरोप लगाएका छन् । बेपत्ता मध्ये भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनारको शव बुधबार फेला परेको थियो । आइतबार बिहान भेरी–४ का नवराज विक र चौरजहारी नगरपालिका–१ का टीकाराम नेपालीको शव फेला परेको थियो ।

सोमबार भेरी–४ का गणेश बुढामगरको शव फेला परेको थियो । हालसम्म भेरी–४ का गोविन्द शाही, सञ्जु विक हाल बेपत्ता बनेका छन् ।