धरान । धरानको तीनकुनेस्थित सेक्टर वन कार्यालयले अतिक्रमित धरान–२० को सामुदायिक वन क्षेत्र बुधबार अपरान्हतिर खाली गराएको छ ।
धरान–२० स्थित कार्कीछाप कालीखोला सामुदायिक वन क्षेत्र अतिक्रमण गरी चार परिवारले करिब ५ कठ्ठा जग्गा अतिक्रमण गरेर घरटहरा, गाईगोठ र घेराबारा गरेर मकै लगाएका थिए । सेक्टर वन कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान र सशस्त्र प्रहरी बलको सहयोगमा अतिक्रमित क्षेत्र पूर्णरूपमा खाली गराइएको हो ।
अतिक्रमण गरिएको क्षेत्र हटाउनका लागि सेक्टर वनले वैशाख २६ गते नै पन्ध्र दिने सूचना जारी गरेको थियो । सूचनापछि चारै जना घरधनीले टहरा भत्काए पनि मकैबारी र अन्य सामग्री खाली गराएका थिएनन् । सेक्टर वनका रेञ्जर ईश्वरी बाँस्तोलाका अनुसार टहरा र गाईगोठ भत्काए पनि मकैबारी, परालको कुन्यूलगायत त्यसै छाडिएकाले प्रहरी प्रशासनको सहयोगमा सबै हटाइएको छ ।
वन क्षेत्र अतिक्रमण गरी बुद्धिमान तामाङ र छोरा दर्वसिंह तामाङ, दिलबहादुर राई र निमा दोर्जे तामाङले घरटहरा बनाएका थिए । धरान–१६ का स्थायी दिलबहादुरले गाईगोठ नै बनाएका थिए । वर्षौदेखि उनले तीन वटा गाईसमेत पालन गर्दै आएका थिए ।
वन अतिक्रमण गरी छेकवार लगाएर मकैबारी समेत लगाइएको पाइएको थियो । केही समयअघि ब्लाष्ट संवाददाता त्यसक्षेत्रमा पुग्दा बुद्धिमान र दर्वसिंहले भने घर भत्काउँदै गरेको अवस्थामा भेटेको थियो । तर, अन्यले भने हटाएका थिएनन् । यस विषयमा ब्लाष्ट संवाददाताले सामुदायिक वनका अध्यक्ष सम्फर तामाङलाई जिज्ञासा राख्दा पटकपटक हट्नका लागि आग्रह गर्दा पनि उहिल्यैदेखि भोगचलन गर्दै आएको भन्दै हट्न नमानेको बताएका थिए ।
समुदायले २०७३ सालमा मात्रै जिल्ला वनबाट सामुदायिक वनको रूपमा अधिकार प्राप्त गरेको थियो । अध्यक्ष तामाङले २०५६ सालदेखि नै संरक्षण गर्दै आएको भए पनि धेरै ढिला गरी हस्तान्तरित भएको बताएका थिए । यो क्षेत्र धरानको भानुचौकबाट करिब चार किलोमिटर उत्तर पश्चिममा पर्छ । धरान–१६ को जोरसखुवाभन्दा पारिपट्टिको क्षेत्र हो ।
वन ऐन २०५६ दफा ४९ खण्ड ‘ग’ र वन नियमावली २०५१ नियम ३१ को ‘ख, ग र घ’ अनुसार अतिक्रमित क्षेत्र हटाउन वनले निर्देशन दिएको थियो । त्यो क्षेत्र विष्णुपादुका सव डिभिजन वन कार्यालय अन्तर्गत पर्दछ । डिभिजन वन कार्यालयका प्रमुख समेत रहेका बाँस्तोलाले प्रहरी प्रशासनको सहयोगमा अतिक्रमित क्षेत्र खाली गराइएको बताए ।
‘केही वर्षदेखि अतिक्रमण गरेर भोगचलन गर्दै आएको पायौं, त्यसपछि वनले १५ दिने सूचना पनि जारी गरेको थियो, सूचनाअनुसार टहरा भत्काए पनि मकैबारी र संरक्षण गरिएको तारबार नहटाइएकाले आज हटायौं’–उनले फोन सम्पर्कमा भने । सूचना जारी गर्दा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, धरान उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय, धरान–१६ नम्बर वडा कार्यालय, २० नम्बर वडा कार्यालय र सामुदायिक वनलाई पनि बोदार्ध दिएको थियो ।
तस्बिरहरू: उपेन्द्र चाम्लिङ