भण्टाबारी । सुनसरी घर भएका २८ जना नेपाली नागरिकहरूले आफूहरूलाई भारतको युपी राज्यमा बिना कारण जेलमा राखिएको भन्दै उद्धार गरिदिन आग्रह गरेका छन् ।

युपी राज्यको बागपत भन्ने स्थानमा भारतीय अधिकारीहरूले कोशी गाउँपालिका क्षेत्रका १८ जना र भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रका एक जनासहित २८ जना नेपाली नागरिकहरूलाई जेल राखेको भन्दै उद्धार गरिदिन आग्रह गरेका हुन् । जेलमा राखिएका मध्ये एकजना व्यक्तिले वाट्सअपमा भ्वाइस म्यासेज पठाउँदै उद्धार गरिदिन आग्रह गरेको कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले बताए ।

भारतमा लकडाउन उल्लंघन गरेको भन्दै उनीहरूलाई जेलमा राखिएको प्रारम्भिक जानकारी प्राप्त भए पनि के कारण त्यहाँका सुरक्षाकर्मीले जेलमा राखेका हुन् भन्ने बारेमा अझै यकिन हुन नसकेको उनको भनाइ छ । कोशी गाउँपालिका क्षेत्रका नागरिकलाई जेलमा राखिएको बारेमा भारतीय पक्षबाट आफू कहाँ कुनै जानकारी नआएको अन्सारीले बताए । जेलमा रहेका नेपालीहरूले भ्वाइस म्यासेज पठाउँदै उद्धार गरिदिन आग्रह गरेको उनले बताए ।

सप्तरीको बोदेबर्साइन नगरपालिकास्थित जाजरमा फागुन ५ गते भएको इज्तेमाबाट उनीहरू जमातको क्रममा भारतको युपी गएको बताइएको छ । सोही क्रममा उनीहरूलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई जेलमा राखेको बुझिएको छ । दिल्लीमा तब्बलीगि जमातीमा कोरोना संक्रमित पाइएपछि सुरक्षाकर्मीले युपी पुगेका नेपाली र केही भारतीय नागरिकलाई कृष्ण उच्च माविको क्वारेन्टाइनमा राखिएको जानकारी पाएको अन्सारीले बताए ।

क्वारेन्टाइनमा राखिएकामध्ये त्यहाँका सुरक्षाकर्मीले भारतीय नागरिकलाई छाडे पनि नेपाली नागरिकलाई भने जेलमा राखेको उनले बताए । यसबारे आफूले जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत् परराष्ट्र मन्त्रालयमा २८ जना नेपाली नागरिकलाई उद्धार गरिदिन परिपत्र गर्ने अन्सारीले तयारी गरेकाे बताए । साथै सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद् ज्ञानेन्द्रबहादुर कार्कीसहितका नेताका साथै जिल्ला प्रशासन कार्यालय सुनसरी, विभिन्न सरोकारवाला निकाय, मानवअधिकारकर्मीलाई यसबारे जानकारी गराउँदै उनीहरूलाई उद्धार कार्यमा पहल गरिदिन आग्रह गरेको अन्सारीले बताए ।