धरान । भ्याट (अन्त शुल्क) बिल नकाटी खाद्यान्न ढुवानी गर्दै गरेको अवस्थामा सुनसरीको कोशी ब्यारेजबाट मंगलबार रातको समयमा प्रहरीले एउटा मिनी ट्रकलाई नियन्त्रणमा लिएको छ ।

प्रदेश ०२–०३–००१ ख १०२ नम्बरको मिनी ट्रकलाई रोकेर जाँच गर्दा भ्याट बिल नकाटेको अवस्थामा भेटिएपछि नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ । सुनसरी कोशी गाउँपालिका–८ कोशी ब्यारेजबाट ट्रकसहित इटहरी–९ का ढकेन्द्र पोखरेललाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि अनुसन्धान कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सूचना शाखाले जनाएको छ । 

त्यस्तै सुनसरीको हरिनगरा क्षेत्रबाट को २६ प ५५४७ नम्बरको मोटरसाइकलबाट पनि खैनी, चिनी, बिँडी, बिस्कुट, र प्लाष्टिकको डोरीलगायत करिब २९ हजार ४२० रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिइएको छ । गस्ती गर्ने क्रममा हरिनगरा गाउँपािलका–१ जमुनगाछीबाट नियन्त्रणमा लिएर भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाइएको छ ।

साथै हरिनगरा ५ बाटै चोरीनिकासी गर्दै गरेका अवस्थामा उमङ्ग र दिलवाले लेखिएको ५९ कार्टुन रक्सी बरामद गरिएको छ । करिब ५३ हजार १ सय मूल्य बराबरको रक्सी नियन्त्रणमा लिएर सेतुबन्धमै बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

त्यस्तै अवैध घरेलु मदिरा बेचबिखनका लागि ओसारपसार गर्दै गरेको अवस्थामा ५ सय लिटर मदिरा बरामद गरी मंगलबार नष्ट गरिएको छ ।