धरान । प्रेमका कारण रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरूमध्ये ३ युवाको शव फेला परेको छ । अझै ४ युवाको अवस्था अज्ञात रहेको छ ।

गाउँले र युवाहरू बीच भएको झडपमा तीन युवाको हत्या गरिरहेको अवस्थामा शव फेला परेको हो । जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विकले आफ्नी प्रेमीलाई लनि भनी केही समय अघि १९ जना युवाहरू गएका थिए । त्यसक्रममा सोतीमा गाउँले र युवाहरूबीच झडपको स्थिति सिर्जना भएको थियो । झडपमा नवराज विकसहित भेरी नगरपालिका–४ कै गणेश बूढा, चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव फेला परेको रुकुम प्रहरीले जनाएको छ । सुनार र विकको शव आइतबार नै भेटिएको थियो भने गणेशको शव सोमबार मात्रै भेटिएको हो ।

उनीहरूसँगै गएका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकीको अवस्था अज्ञात छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष डम्बर मल्लसहित १२ जना स्थानीयलाई नियन्त्रणमा लिएर अनुस्न्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुकम पश्चिमका डिएसपी ठकबहादुर केसीले जानकारी दिए ।