धरान । भारतको बिहार राज्यस्थित सीतामडीमा बिहे भएर गएकी धरानकी महिलाको शंकास्पद मृत्युका विषयमा माइती पक्षले घटनाको सत्यतथ्य बुझ्न नपाउने सम्भावना बढेर गएको छ ।

धरानमा भएका माइतीपक्षले छोरीको हत्या गरेको दाबी गरिरहे पनि भारत प्रवेशका लागि अनुमति नपाउँदा घटनाको सत्यतथ्य बुझ्न नपाएका हुन् । छोरी रेखा दास रामको शंकास्पद मृत्यु भएको खबर प्राप्त गरेको माइती पक्ष भारत जानका लागि हिँडे पनि भारतीय प्रहरीले सीमा नाकामा रोकेपछि घटनाको वस्तुस्थिति बुझ्न नपाउने भएका हुन् । गत बिहीबार अपरान्ह ३ बजेतिर छोरीको शंकास्पद मृत्यु भएको खबर छिमेकीमार्फत् उनीहरूले प्राप्त गरेका थिए । 

तत्कालै शुक्रबार भारततर्फ जानका लागि इलाका प्रहरी कार्यालय धरानबाट अनुमति लिएर हिँडेका उनीहरूलाई सुनसरीको भण्टाबारी नाकामा भारतीय प्रहरीले रोकेका थिए । भारतीय प्रहरीले नेपालस्थित भारतीय राजदूतावासको पत्र ल्याए मात्रै प्रवेश गर्न दिने भन्दै रोकेपछि उनीहरू धरान फिर्न बाध्य बनेका थिए । करिब १३ वर्षअघि सीतामडीमा बिहे भएर गएकी रेखाको तीन छोरीहरू रहेका थिए । 

दाइजो तथा छोरीको निहुँमा बेलाबेला यातना दिँदै आएको उनलाई गत बिहीबार हत्या गरिएको परिवारको दाबी छ । ‘भारतीय दूतावासबाट कागज बनाउनुपर्छ भनेर भन्दैछ, पाँच दिन भइसक्यो, अहिलेसम्म हाम्रो कुरा सुनुवाइ भएको छैन’–मृतक रेखा दासका भाइ राजुले भने । मृत्यु भएको दिन एउटा छोरीले मट्टितेल पोखाइदिएको निहुँमा देवरले कुटेपछि रेखाले प्रतिकार गर्दा उनीमाथि नै जाइलागेको छिमेकीहरूले बताएको माइती पक्षले जनाए । 

भारतीय प्रहरीलाई यसबारेमा रिपोर्ट गर्दा बुबाले नै आएर जाहेरी लेख्नुपर्छ भन्ने जानकारी आएपछि माइतीपक्षबाट बुबा मुन्ना दास र भाइ राजु दास त्यसतर्फ हिँडेका थिए । तर, हिँडे पनि उनीहरूलाई सीमा नाकामा रोकेर फर्काइदिएका छन् । घटना भएको यत्रो दिन बितिसकेका कारणले उनीहरू न्याय नपाइला कि भन्ने चिन्तामा रहेको धरान–९ नम्बरका वडाध्यक्ष रत्न कट्वालले जानकारी दिए । ‘छोरी मरेको मर्यै भयो भनेर मलाई गनगन गर्छ’ उनले भने, ‘न्याय नपाउने सम्भावना बढेर गयो ।’