धरान । राष्ट्रपति चुरे क्षेत्रमा पर्ने धरान–५ को अँधेरी खोलाबाट जनप्रतिनिधिले नै विकास निर्माणको नाममा खोला उत्खनन् गरिरहेको पाइएको छ ।

चुरे क्षेत्रमा पर्ने भएकाले हालसम्म उक्त खोलामा ठेक्का लगाउने गरिएको छैन । विगतमा ठेक्का लगाउने अधिकार प्राप्त संस्था जिल्ला विकास समिति, हालको जिल्ला समन्वय समिति र स्थानीय तह धरान उपमहानगरपालिकाले पनि ठेक्का लगाएको छैन । तर, धरान–५ नम्बरका वडाध्यक्ष सन्तोष लिम्बू आफैले खोला उत्खनन् गरेर विकास निर्माणमा भन्दै निकाल्ने गरेको पाइएको छ । 

यस विषयमा वडाध्यक्ष लिम्बूलाई पटकपटक उनको एनटिसीको पोष्टपेड र एनसेलको नम्बरमा ब्लाष्टकर्मीले फोन गर्दा उठाएनन् । स्थानीयका अनुसार उनले खोलाले बस्तीमा क्षति पु¥याउने भन्दै बाँधका लागि मिक्सगिट्टी उत्खनन् गरिरहेका छन् । तर, उनले विकास निर्माणको नाममा बाहिर बिक्री गरिरहेको भिडियोसमेत ब्लाष्टलाई प्राप्त भएको छ । 

स्थानीयले देउराली प्रहरी चौकीलाई पनि यसबारेमा धेरै पटक गुनासो पुगेको थियो । गुनासोको आधारमा परीक्षण गर्दा हालसम्म त्यस्तो गतिविधि भएको नभेटिएको प्रहरी चौकीले जनाएको छ । अहिले फुटबल ग्राउण्ड बनाउने लागि भन्दै ढुङ्गागिट्टी उत्खनन् गरिरहेका छन् ।

एक स्थानीय युवाले भने, ‘अवैध तरिका बाहिर निकास गर्नुहुँदो रहेछ । वडादेखि बाहिर बेच्नु हुँदोरहेछ । एक्सन लिँदा खेरी यहीँ खन्याएको भनेर खन्याई पनि हाल्छ ।’ उनका अनुसार गोप्य रूपमा खोजी गर्दा धरान बजारतिर बिक्री गरेको भेटिएको छ । उनले अँधेरी खोलाबाट जेसिभी लगाएर नै उठाइरहेको छ । यस विषयमा धरान उपमहानगरपालिकालाई पनि स्थानीयले खबर गरेका थिए ।

धरान उपमहानगरकी उपप्रमुख तथा अनुगमन समितिकी संयोजक मञ्जु भण्डारी सुवेदीले गुनासो आएको आधारमा नगर प्रहरीलाई गएर बुझ्न लगाउँदा गाउँमै थुपारेको पाइएको बताइन् । उनले भनिन्, ‘बाहिर बिक्री गरेको रहेछ भने त्यो त सिधै तस्करी हो, त्यसो गर्न पाइँदैन ।’ उनका अनुसार त्यो खोलाबाट नै उत्खनन् गर्न मिल्दैन । ‘हामीले ठेक्का नलगाएको खोला, जेसिभी राख्नु नै अनाधिकृत हो, यदि त्यस्तो हो भने त कारबाही गर्नुपर्ने हुन्छ ।’

उनका अनुसार धरान उपमहानगरपालिकालाई पनि कुनै योजना तथा विकास निर्माणको काम गर्छु भनेर लिखित तथा मौखिक जानकारी आएको आफूलाई थाहा छैन ।