धरान । धरान–१ लक्ष्मी चोकको एक घरमा डेरा गरी बस्ने भारतीय नागरिकलाई कोशी ब्यारेजबाट प्रहरीले आँपको गाडीमा हालेर पठाएको व्यापारीले बताएका छन् । 

उनी नेपाल २२ दिनअगाडि नै आइपुगेका थिए । नेपाल आइपुगेपछि सप्तरीको राजविराजमा १४ दिनसम्म क्वारेन्टाइनमा राखेको थियो । उनी दिल्लीबाट बिहारको बाटो हुँदै नेपाल आइपुगेका हुन् । आज बिहान एक्कासी भाडाको घरमा आइपुगेपछि लक्ष्मीचोकबासी त्रसित बनेका थिए । घरधनी महेश श्रेष्ठले वडाध्यक्ष रोशन अधिकारीलाई फोन गरेर ती युवाको बारेमा जानकारी गराएपछि तत्कालै उनलाई क्वारेन्टाइनमा पठाउने तयारी गरिएको थियो । 

धरानका थोक व्यापारी शिवचन्द्र झाको आँपको ट्रकमा प्रहरीले हालेर पठाइदिएको चालकले आफूलाई जानकारी दिएको व्यापारी झाले बताए । उनले भने, ‘जवर्जस्ती हालिदिएछ कि के गरेछ, मलाई थाहा भएन, पुलिसले कोशीव्यारेजबाट हालिदिएको भनेर चालक भन्छ ।’ कोशी व्यारेजमा चेक गर्दा प्रहरीले धरान पठादिएको उनले बताए । 

‘तैले ल्याएको हो भनेर मैले ड्राइभरलाई सोधे, उसले भन्छ मैले ल्याएको होइन, जहाँ लानुपर्छ मेरो गाडी पनि लानुस्, मलाई पनि लानुस् म जान तयार छु भन्छ’ उनले थपे । ती युवालाई इटहरीस्थित जनता क्याम्पसको क्वारेन्टाइनमा लाने तयारी भएको छ । धरानमा नयाँ व्यक्ति आएको विषयमा धरान उपमहानगरपालिकाले सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई फोनसमेत गरेर प्रहरीले मान्छे हालिदिएको भन्ने कुरा आएकाले प्रहरीलाई कुनै पनि गाडीमा नहाल्नका लागि निर्देशन गर्न अनुरोध गरेको नगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले बताइन् । 

‘प्रहरीले हालिदिएको भन्ने खबर आएपछि मैले तत्कालै सिडिओलाई फोन गरेर तपाईंले तत्काल प्रहरीलाई निर्देशन दिनुप¥यो, धरानमा आउने सब्जीको गाडीमा कुनै चालक र सहचालक भन्दा अर्को मान्छे हालेर पठाउनु भएन’–उनले भनिन् । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा धरान उपमहानगर अनुगमन समितिले तत्काल स्वस्थ्यकर आँप भए/नभएको जाँच गरेको छ । जाँचका क्रममा स्वस्थ्यकर नै रहेको प्रमाणित भएको धरान उपमहानगर अनुगमन समितिका बजार अनुगमन अधिकृत वेदप्रकाश सापकोटाले जानकारी दिए ।