ताप्लेजुङ /  चीनको तिब्बत स्वायत्त क्षेत्रले ताप्लेजुङ जिल्लालाई दिने स्वास्थ्य सामग्री बुझ्न गएको सहायक प्रमुख जिल्ला अधिकारीसहितको टोली ओलाङ्चुङगोलाबाट रित्तै फर्किएको छ । ताप्लेजुङका लागि दिने पूर्व घोषित स्वास्थ्य सुरक्षाका सामग्री प्राविधिक समस्याका कारण तत्काल टिपताला ल्याउन कठिनाई रहेको बताएपछि टोली रित्तै फुङ्लिङतर्फ फर्किएको हो ।

प्राविधिक समस्या देखाउँदै तत्काल स्वास्थ्य सुरक्षाका सामग्री टिपताला ल्याउन कठिनाई रहेको बताएपछि ओलाङ्चुङगोला पुगेको टोली २ दिन त्यही बसेर शुक्रवार फुङ्लिङतर्फ फर्किएको टोलीमा सहभागी पत्रकार सिताराम गुरागाईले जानकारी दिए । टोली शुक्रवार साँझ नै फुङ्लिङ आइपुग्ने बताइएको छ । 

गत मंगलवार नै गोला पुगेको टोलीलाई प्राविधिक समस्या देखिएको भन्दै डिङ्जी काउन्टी सरकारका अधिकारीले आफुहरुले सूचना दिएपछि मात्र टिपताला नाका आउन आग्रह गरेका थिए । तर सूचनाको पखाइमा बुधवार र बिहीबार गोलामै बसेको टोली तत्काल टिपताला सम्म सामग्री ल्याउन कठिनाई भएको डिङ्जी काउन्टी सरकारको संकेत गरेपछि टोली रित्तै फर्किएको हो । 

पत्रकार गरागाईका अनुसार माथिल्लो निकायबाट आधिकारिक जानकारी नै आफुँहरुलाई नआएको चिनिँया अधिकारीले प्रतिक्रिया दिएका थिए । त्यसपछि स्वास्थ्य सामग्री बुझ्न गएको टोली रित्तै फर्किएको हो । 
पूर्व निर्धारित कार्यक्रम अनुसार बिहीबार डिङ्जी काउन्टी सरकारका अधिकारीले नेपाली अधिकारीको टोलीलाई कोभिड–१९ बिरुद्ध लड्ने जनशक्तिका लागि आवश्यक पर्ने सामग्री टिपतालामा बुझाउने कार्यक्रम थियो ।

गोलाबाट करिव २५ किलोमिटर टाढा रहेको टिपताला नेपाल–तिब्बत सीमा क्षेत्र हो । डिङ्जी काउन्टी सरकारले ¥यापीड डाईग्नोस्टिक किट थान, एन–९५ माक्स थान, पीपीई थान, थर्मलगन र सर्जिकल मास्क सहितका सामग्री ताप्लेजुङका लागि दिने गरी कार्यक्रम तय गरेर नेपाल सरकारलाई कुटनीतिक पत्राचार गरेको थियो ।