धरान । बलात्कारको आरोपमा धरान–१५ का श्री सुब्बा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानका अनुसार उनी धरानमै लुकेर बसिरहेको अवस्थामा बिहीबार साँझ पक्राउ परेका हुन् ।

संघीय समाजवादी पार्टीको भातृ संस्था समाजवादी युवा संघको प्रदेश १ संयोजकसमेत रहेका श्रीले ८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । सुब्बाले बालिकालाई पटकपटक बलात्कार गरेको भन्दै बालिकाका आफन्तले तीन दिनअघि किटानी जाहेरी दिएका थिए । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्याैपानेले पक्राउ परेको बताए ।

बच्चीको स्वास्थ्य चाँज पनि गरिसकिएको छ । पटकपटक बलात्कार गर्दै आए पनि बच्चीकी आमाले जाहेरी दिनुभन्दा अघिल्लो दिन थाहा पाएकी थिइन् । जाहेरी दिएपछि प्रहरीले तीन दिन अघि नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा स्वास्थ्य परीक्षण गराएको थियो । बच्ची अहिले आफन्तको साथमा रहेकी छन् ।

सुब्बा त्यसपछि विभिन्न ठाउँमा लुक्दै आएका थिए । प्रहरीले व्यापक खोजी गरेपछि आज मात्रै पक्राउ गर्न सफल भएको थियो । सुब्बाले सामाजिक सञ्जाल फेसबुकमा ‘सुनको मुद्दामा आफूलाई फसाउन प्रहरी प्रशासन लागेको’ आशयको स्टाटस पोष्ट गरेका थिए । सुब्बा विभिन्न मुद्दामा यसअघि पनि पक्राउ पर्दै आएका व्यक्ति हुन् । प्रहरीले चार दिन अघि मात्रै सुनको मुद्दाको बाहानामा गएर घरमा जाँच गरेको थियो । त्यो बेलादेखि नै उनी फरार रहेका थिए । उनीमाथि जवर्जस्ती करणीको मुद्दा अगाडि बढाइने भएको छ ।

यसअघि यी–यी मुद्दामा पक्राउ

ज्यान मारेको अभियोगमा उनी लामो समय जेल बसेर फर्किएका व्यक्ति हुन् । उनी पछिल्लो समय राजनीतिमा सक्रिय रहेका थिए । समाजवादी पार्टीमा सक्रिय रहेका उनी असोज १७ गते राति ११ बजेतिर धरान १५ बगरकोटको भिन्टेज लाउन्ज एण्ड बारमा होटल कर्मचारी र प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए । उनीसहित चार जना पक्राउ परेका थिए ।

त्यस्तै २०७५ सालमा फागुन १८ गते राति धरान–१५ मा अत्यधिक मादक पदार्थ सेवन गरेर आफैले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते बनाएका थिए । त्यसबेला पनि पक्राउ परेका थिए । सुब्बाले चलाएको बा ७ प ७६३१ नम्बरको कारले को ९ प १०२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा धरान–५ देउरालीका गौरव राजधामी र धरान १५ का रोहित राई गम्भीर घाइते बनेका थिए ।

२०७५ साल पुसमा पनि उनी पक्राउ परेका थिए । त्यो बेला १८ दिनसम्म थुनामा बसेर छुटेका थिए । धरानमा लाग्ने रमाइलो मेलामा पनि गुण्डागर्दी र ढुङ्गामुढा गरेको आरोपमा पुसको दोस्रो साता पक्राउ परेका थिए । उनलाई प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता गरेको थियो । उनी १८ दिनपछि धरौटीमा छुटेका थिए ।

के छ अपराध संहितामा जवर्जस्ती करणीको सजाय ?

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ करणीसम्बन्धी कसूरको दफा २१९ को उपदफा ३ (क) मा जवर्जस्ती करण गर्ने व्यक्तिलाई १० वर्षभन्दा कम उमेरीकी बालिकालाई करणी गरेमा जन्मकैदको सजाय हुने व्यवस्था रहेको छ ।