विराटनगर/विराटनगर–१४ झटियारिस्थित आफ्नै घरभित्र शव गाडिएको अवस्थामा बुधबार साँझ फेला परेका ६९ वर्षीय सत्यराम भनिने सिताराम चौहानको हत्यामा उनकै दुई छोराको संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । बाबुको हत्या आरोपमा प्रहरीले जेठा छोरा मुन्ना भनिने रोहित र माइला छोरा नागेन्द्र चौहानलाई पक्राउ गरेको हो ।
दुवै छोराले गत शनिबार मदिरा सेवन गरी बावुको हत्या गरेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । बाबुको हत्यामा कोदालो प्रयोग गरिएको खुलेको छ । हत्यापछि बाबुको शव घरभित्र चार फिटको गहिरो खाडल खनेर गाडेको एसपी अधिकारीले बताए । हत्या गर्ने योजना नबनाएको भए पनि मदिराको नशामा लठ्ठिएपछि आबेगमा आएर छोराहरूबाट हत्या गरिएको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी अधिकारीले बताए ।
‘छोराहरूबाट मार्छु भन्ने योजना नभए पनि तत्काल रिसको आबेगमा आएर बाबुको हत्या भएको अनुसन्धानबाट खुलेको छ,’ एसपी अधिकारीले भने, ‘शनिबार हत्या गरेपछि आइतबार मात्र शवलाई खाडल खनेर घर भित्रै गाडेको पाइयो ।’ राति ९ बजेको समयमा घर भित्र बाबुको हत्या गरेको थिए । ‘बाबुको हत्यापछि दुवै छोरा त्यस दिन घर भित्रसँगै सुतेको अनुसन्धानबाट देखियो,’ उनले भने, ‘बाबुको हत्या भएको खुल्ने डरले भोलिपल्ट मात्र शवलाई खाडल खनेर गाडेको खुलेको छ ।’ छोराहरूले काम गरेको पैसा बाबुले मागेपछि झगडा हुँदा छोराहरूले बाबुको हत्या गरेको प्रहरीले जनाएको छ ।
बाबुसँग जेठा छोरा मुन्ना भनिने रोहित चौहान बस्दै आएका थिए । माइला छोरा विराटनगर १५ भट्टीमोडमा बस्दै आएका छन् भने कान्छा छोरा ५ वर्षदेखि सम्र्पकविहीन छन् । भट्टीमोडस्थित माइला छोरा नागेन्द्रकोमा सत्यराम प्रायः जसो जाने गरेका थिए । ४÷५ दिनदेखि ससुराबा माइला छोराकहाँ नआएपछि बुहारी सत्यरामकोे घरमा बुधबार पुगेकी थिइन् । घरको ढोका खुल्ला भएर कोठा पूरै दुर्गन्ध र रगत लतपतेको टिसर्ट देखेपछि उनी इलका प्रहरी कार्यालय रानी विराटनगरमा पुगेकी थिइन् ।
मोरङ प्रहरी र इप्रका रानीको प्रहरी टोली सत्यरामको घरमा पुग्दा करिब चार फिट गहिरो खाडल खनेर गाडेको अवस्थमा शव प्रहरीले बरामद गरेको थियो । प्रहरीले दुवै छोरालाई बुधबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई प्रहरीले बिहीबार डिजिटल पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ । प्रहरीले दुवै जनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
छोराले यसरी गरे बाबुको हत्या
दुवै जना मिलेर फरुवाले हानेर हत्या गरेपछि घर भित्रै खाल्डो खनेर शव तन्नाले बेरेर गाडिएको प्रहरीको भनाइ छ । ज्याला मजदुरी गर्ने छोराहरूले शनिबार साँझ बाबुले पैसा मागेका थिए । ज्याला मजदुरी गरेर कमाएको १७ सय रुपैयाँ उनीहरूले कपडा र मदिरा सेवन गरेर सकेका थिए । घर पुगेपछि बाबुले जेठो छोरा रोहितसँग पैसा मागेका थिए । तर ज्यालामजदुरी गर्ने रोहितले आफूसँग पैसा नभएको बताएपछि बाबुले घरबाट निकालिदिने चेतावनी दिएपछि बाबु छोराबीच विवाद सुरु भएको प्रहरीको भनाइ छ ।
त्यतिबेला माइलो छोरो नागेन्द्र पनि बुवा र दाजु बस्ने घरमा पुगेका थिए । ‘विवाद बढ्दै गएपछि रोहितले नजिकै रहेको फरुवाले सुरुमा बाबुको टाउकोमा प्रहार गरेका थिए । बाबु त्यहीँ ढले । त्यसपछि माइला छोराले पुनः दोस्रो पटक फरुवा प्रहार गरे । बाबुको प्राण गएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ,’ एसपी अधिकारीले भने । जेठा छोरा रोहित लागूऔषध पनि सेवन गर्ने गरेको पाइएको छ ।
बाबुको शव गाडेपछि रक्सी भट्टीमा
बाबुको शव बाहिर निकालेमा घटना बारेमा गाउँलेले थाहा पाउने भएपछि रोहित नगेन्द्रले हत्या गरेको भोलिपल्ट मात्र खाडल खनेर शव ढालेको दुवै छोराले प्रहरीलाई बताए । बाबुको हत्यापछि दुवै जना सँगै सुतेका थिए ।
हत्या गरेको भोलिपल्ट आइतबार बजार घुमेर आएपछि करिब चार फिट गहिरो खाडल खनेर बावुको शव गाँडेका थिए । बाबुको शव गाँडेपछि दुवै जना नजिकको भट्टी पसलमा मदिरा सेवन गरेर बसेका प्रहरीले जनाएको छ । माइला छोरा नगेन्द्र भाडाको घरमा बसे पनि जेठा छोरा बाबुको हत्या पछि पनि घरमै बसोबास गर्दै आएका थिए ।