ताप्लेजुङ/विगत २४ घण्टाभित्र बेग्लाबेग्लै घटनामा परी ताप्लेजुङमा दुई जनाको मृत्यु भएको छ भने १ जनाको शव फेला परेको छ । अर्का एक जना बेपत्ता भएका छन् ।

मृत्यू हुनेमा एक प्रहरी सहायक निरिक्षक सहितका रहेका छन् । गाउँमा भएको एक झगडा मिलाएर कार्यालयतर्फ फर्कदैं गरेका ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ७ मा रहेको खेवाङ प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) बालकुमार राईको बाटैमा मृत्यु भएको छ । सुरुम्खिमको बुरुम्खिममा भएको झगडा मिलाएर फर्कदै गरेका उनलाई तावाखोला नजिक आई पुगेपछि अचानक असहज महशुष भएको थियो ।

शरिरमा अचानक असहज महशुष भएपछि स्थानीय कुमार सार्कीको घर सम्म पुगेका उनले त्यसपछि बान्ता गर्न थालेको र केहि समयमै उनको मृत्यु भएको खबर आफुहरुलाई प्राप्त भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । घटनास्थलमा सदरमुकाम फुङ्लिङबाट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा प्रहरी प्रमुख (डिएसपी) महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलतर्फ प्रस्थान गरेको समेत प्रजिअ निरौलाले बताए । भोजपुरको लेकखर्क घर भई अहिले झापाको दमक बस्दै आएका ४२ बर्षिय राई केहि महिना अघि मात्र प्रहरी ईञ्चार्ज भएर खेवाङ पुगेका थिए ।

यता बुधवार काठ र दाउराका लागि रुख ढाल्ने क्रममा फुङ्लिङ नगरपालिका वडा नं १० फुरुम्बुको मयायमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्तबीर तबेबुङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काले जानकारी दिए । रुख काट्ने क्रममा रुखलाई बञ्चरोले हान्दा उछिट्टिएर सन्तबीरको पेटमा लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उता सिरिजङ्घा गाउँपालिका वडा नं ८ याम्फुदिनका एक युवक हराएको १८ दिनपछि मृत अवस्थामा फेला परेका छन् । प्रहरी निरीक्षक खड्काका अनुसार याम्फुदिनका २५ बर्षिय ग्याबु शेर्पा मृत भेटिएका हुन् । बैशाख २१ गते दिउँसो घरबाट हिडेंका उनी घर फर्की नआएपछि उनका आफन्तले प्रहरीलाई जाहेरी दिएका थिए । उनको शव खोला किनारमा फेला परेको थियो । उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याईएको छ । यता मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवा लप्सीबोटेका २१ बर्षिय युवक केशव खवास मिक्वाखोला र मेरिङ्देन गाउँपालिकाको बीच भाग भई बग्ने मेवाखालामा बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।