धरान । चाबी थुतेको निहुँमा प्रहरीसँग विवादको क्रममा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिकाका वडाध्यक्षका छोराले असइमाथि हातपात गरेपछि पक्राउ गरेको छ ।

रामेछापमा कार्यरत असइ डिकबहादुर तामाङलाई आक्रमण गरेपछि पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ का अध्यक्ष रामबहादुर लामाका २६ वर्षीय छोरा आकाश लामासहित दुई जनालाई पक्राउ गरेको छ । घटना भने जेठ ५ गते साँझतिर लकडाउनको समयमा मोटरसाइकल कुदाएपछि प्रहरीले चाबी थुतिदिएको विषयलाई लिएर भएको थियो । वडाध्यक्ष रामबहादुर लामाका अनुसार जेठ ५ गते साँझतिर छोरा आकाशसँगै पक्राउ परेका २४ वर्षीय वकिल दमाईको मोटरसाइकलको चाँबी प्रहरीले खोसिदिएको थियो । ‘‘५ गते बेलुका बाइक स्पिडमा ल्याएको थियो, लकडाउनको बेला किन स्पिड चलाएको भनेर पुलिसले चाबी थुत्दियो र पुलिसले दुईचार थप्पड पनि हिर्काइदिएको थियो’–वडाध्यक्ष लामाले फोन सम्पर्कमा भने, ‘म स्वयम् आफै थियो ।’

भोलिपल्ट अर्थात् जेठ ६ गते मंगलबारका दिन वकिलका दाजु गोपी दमाई प्रहरी कार्यालयमा गएर क्षतिपूर्ति माग्न गएको उनले बताए । ‘त्यही केसलाई लिएर गोपी र वकिलले मेरो छोरालाई फोन गरेछ’ उनले भने, ‘मेरो छोराले दलित केटाहरूलाई किन कुटेको भनेर भनेछ, असइ डिकबहादुरले तँ कोहोस् भनेर कठालो समातेछ, मेरो छोराले पनि नाकमा बक्सिङले हानिदिएछ, भएको यति हो सर ।’

प्रहरीले आकाशसहित वकिललाई पनि पक्राउ गरी कारबाही अगाडि बढाएको छ । वडाध्यक्षका छोरा आकाश गत मंसिर यतादेखि स्वास्थ्य चौकीमा करारमा अहेवको जागिर खादै आएका थिए । उनीहरूलाई इलाका प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरी कारबाही अगाडि बढाएको इन्स्पेक्टर फलबहादुर तामाङले जानकारी दिए । नाकमा सामान्य चोट देखिएका असइको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।