धरान । चार महिनाअघि वैदेशिक रोजगारी अन्तर्गत साउदी अरबबाट फर्किएका धरान–१४ का एक व्यक्ति झुण्डिएको अवस्थामा भेटिएका छन् ।

सामान्य घरझगडा भएपछि धरान–१४ का ४० वर्षीय जिरबहादुर याक्खा धरान–४ को खरखरेपाखामा झुण्डिएको अवस्थामा आइतबार साँझ भेटिएका हुन् । जानकारका अनुसार ति व्यक्ति एकदमै शान्त स्वभावका थिए, सोझो पनि थिए । ‘धेरै नबोल्ने पनि, ४–५ महिनाअघि मात्रै विदेशबाट आएका थिएँ’–नाम नछाप्ने शर्तमा जानकारले भने । उनी जनवरी २५ तारिखका दिन नेपाल आएका थिए । उनी ८ वर्षअगाडि धरान–१४ को नयाँ सडकमा घर बनाएर बसेका थिए ।

विदेशबाट आएर उनले सामान्य सब्जी व्यवसाय गर्दै आएका थिए । घटना हुने दिन पत्नीसँग सामान्य विवाद हुँदा जेठ ४ गते बिहानै घर छाडेर हिँडेका थिए । केही समय घरपरिवार र छिमेकीले उनलाई खोजेका थिए । तर, पछि घाँस काट्ने मानिसहरूले उनलाई नाइलनको इजारमा झुण्डिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेको वडाध्यक्ष कृष्ण भट्टराईले जानकारी दिए ।

घटना आत्महत्या वा हत्या हो भन्ने विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । शवको पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । पोष्टमार्टमपछि नै रिपोर्ट आउने धरान प्रहरीले जनाएको छ । उनको पत्नीसहित एक छोरा र एक छोरी छन् ।