धरान । इटहरीका औषधि व्यवसायी देवीप्रसाद दुलालको हत्यामा श्रीमतीकै संलग्नता रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट निश्कर्ष निकालेको छ ।

इटहरी–१२ खनार निवासी उनी विराटनगरमा देवी माँ पाथीभरा फर्मा नामक औषधि पसल सञ्चालन गर्दै आएका थिए । उनको आइतबार बिहान कोशी अञ्चल अस्पतालमा उपचारको लागि लगिएकोमा मृत्यु भएपछि चिकित्सकहरूले अस्वभाविक कारणबाट मृत्यु भएको शंका गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानको क्रममा दुई जना औषधि व्यवसायीसहित पत्नी मीना श्रेष्ठ दुलाललाई नियन्त्रणमा लिएको थियो । तर, औषधि व्यवसायीद्वयलाई सोधपुछ पछि साँझ छाडेको थियो । पत्नी मीनालाई भने नियन्त्रणमा लिएको थियो । एक प्रहरी स्रोतका अनुसार उनको हत्यामा श्रीमतीकै हात रहेको बताइन्छ । तर, प्रहरीले आधिकारिक रूपमा आज १० बजे बिहान मात्रै पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने बताएको छ ।

हत्या हुनुमा पत्नीको अवैध सम्बन्ध रहेको दाबी गरिएको छ । ३३ वर्षीय दुलालको आइतबार बिहान शंकास्पद अवस्थामा मृत भेटिए पछि प्रहरीले अनुसन्धान तीव्र बनाएको थियो । हत्यामा पत्नीसहित साह थरका व्यक्तिकाे संलग्नता देखिएको एक स्रोतले बताएको छ । तर, ती व्यक्ति को हुन् भन्ने विषयमा विस्तृत जानकारी पत्रकार सम्मेलनमा बताइने जनाइएकाे छ । मृतक दुलालको शनिबार राति डोरीले घाँटी थिचेर हत्या गरिएको प्रहरीले हालसम्म प्राप्त सूचनाका आधारमा निश्कर्ष निकालेकाे छ भने मृतकको शरीरको पोष्टमार्टम भइसके पनि रिपोर्ट आउन बाँकी रहेको छ ।

औषधि पसलमै कार्यरत लाहान घर भइ विराटनगर बस्दै आएका ब्रह्मदेव साहकाे संलग्नता देखिएको स्रोतको भनाइ छ ।  दुलालको पत्नीसँगको हिमचिम बढेको पत्तो पाएपछि करिब ७ महिना अगाडि कामबाट निकालिदिएका थिए । प्रहरीले डोरीसमेत बरामद गरिसकेको छ । पत्नी र ती युवाको अन्तरङ्ग सम्बन्धका कारण हत्याको योजना बुनिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

(यसअघि यादव थरका व्यक्ति भनी उल्लेख गरेकाेमा क्षमाप्राथी छाैं-सं.)