धरान । कोरोना भाइरसका कारण भारतमा ९५ हजारकाे हाराहारीमा संक्रमितको संख्या पुग्न आँटेको छ ।

कोभिड १९ इण्डिया डट ओआरजीका अनुसार हालसम्म ९४ हजार ८३५ जना कोरोनाबाट संक्रमित बनिसकेका छन् । ५५ हजार ५२५ जना अहिले आइसोलेसन, क्वारेन्टाइनमा रहेर उपचाररत छन् । भारत सरकारले ३१ मेसम्म लकडाउनको अवधि बढाएको छ । हालसम्म २ हजार ९ सय ८० जनाको कोरोनाका कारण ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १८६ जना नयाँ संक्रमित देखिएका छन् । एक सय ७ जनाको ज्यान गएको छ ।

चौथो चरणको लकडाउनमा अन्तर्राष्ट्रिय विमान, आन्तरिक उडानलाई पनि प्रतिबन्ध लगाएको छ । लकडाउनका लागि राज्य सरकारलाई अधिकार प्रत्यायोजन गरेको छ । राज्य सरकारले आफूअनुकूल लकडाउन लगाउने सक्ने गरी अधिकार दिएको छ । हालसम्म महाराष्ट्र र गुजरातमा सबैभन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।

महाराष्ट्रमा आइतबार मात्रै २ हजार ३४७ नयाँ संक्रमित फेला परेका छन् भने हालसम्म १ हजार १९८ जनाको ज्यान गइसकेको छ । २४ घण्टामा ६३ जनाले ज्यान गुमाएका छन् । गुजरातमा पछिल्लो २४ घण्टामा ३९१ जना नयाँ संक्रमित देखिएका छन् भने हालसम्म ११ हजार ३८० संक्रमित भइसकेका छन् । ६५९ जनाको ज्यान गइसकेको छ ।