पथरी । मोरङको कानेपोखरी–४ स्थित पिङ्गडाँडा पूर्व डाँसखोला किनारमा अचेत अवस्थामा भेटिएका एक युवाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ ।

कानेपोखरी–७, शान्तिटोलका ३५ वर्षीय कुमार पुरीको उर्लाबारीको मंगलबारे अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो । उनलाई खोलाको छेउमा मुखबाट फिँज काँढिरहेको अवस्थामा स्थानीयले भेटेका थिए । स्थानीयले गाउँपालिका र प्रहरीलाई खबर गरेका थिए । उनको साथमा कोदालो, चप्पल र डोरी पनि रहेको प्रहरी चौकी रमाइलोका असइ सुमन श्रेष्ठले बताए ।

गाउँपालिकाका स्वास्थ्य टोली र उपाध्यक्ष राजमती इङ्नाम, वडाध्यक्ष धनबहादुर राई घटनास्थलमा तत्काल पुगी पुरीलाई उद्धार गरी मंगलबारे हस्पिटल पठाएका थिए । परिवारका सदस्यले थाहा पाएपछि आइतबार नै हस्पिटल पुगेका थिए । के कसरी मृत्यु भएको भन्ने बारेमा अनुसन्धान भइरहेको असई श्रेष्ठले बताए ।