धरान । धनकुटाकी १३ वर्षीया दलित बालिकामाथि यौन शोषण गरेको आरोपमा शिक्षकसहित चार जना पक्राउ परेका छन् ।

बालिकाका आफन्तले किटानी जाहेरी दिएका आधारमा धनकुटा गोकुण्डेश्वर माविका शिक्षक मदन अधिकारीसहित चार जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–६ का गौरी अत्री, देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगर छन् । शिक्षक मदनलाई शनिबार पक्राउ गरिएको थियो भने अन्यलाई शुक्रबार नै नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो । शिक्षकचाहिँ फरार रहेका थिए ।

शनिबार अपरान्ह करिब ३ बजेतिर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । एसपी सुदर्शन कोइरालाका अनुसार चारजना विरुद्ध उजुरी परेकाले उनीहरूलाई पक्राउ गरी अनुसन्धानको क्रममा रहेको छ । ‘बच्चीको मेडिकल टेष्ट गरिसकेका छौं, रिपोर्ट आउन बाँकी छ’ उनले फोन सम्पर्कमा भने ।

धनकुटा आत्माराकी ती बालिकामाथि उनीहरूले लामो समयदेखि यौन शोषण गर्दै आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । ती बालिकाको पेट बढ्दै गएको देखिएपछि परिवारले केरकार गर्दा आफूमाथि ललाईफकाई बलात्कार गरेको बताएपछि परिवार छाँगाबाट खसेका थिए । परिवारले उनीहरूविरुद्ध किटानी जाहेरी दिएको आधारमा प्रहरीले नियन्त्रणमा पक्राउ गरेको छ ।

बालिकाको परिवारले बिहीबार उनीहरूविरुद्ध किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । बालिकाको स्वास्थ्य चाँज गर्दा गर्भ रहेको रिपोर्ट आएको छ । बालिकालाई पुनस्र्थापना केन्द्रमा राखिएको छ भने प्रहरीले चारै जनालाई जवर्जस्ती करणी महल अन्तर्गत कारबाही अगाडि बढाउने भएको छ ।