भद्रपुर । नेपाल प्रवेश गर्न खोजेका करिब डेढ सय जना भारतीयलाई रोक्न सशस्त्र प्रहरीले एक राउण्ड हवाइ फायर गरेको छ ।

शनिबार राति झापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाइ फायर गरेको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाका एसपी रेशमकुमार थक्सूले जानकारी दिए ।

नेपाल–भारत सिमानाको पिलर नम्बर १२५/१० मा घरेलु हतियार सहित भाला, लाठी लिएर पोष्टमा आक्रमण गर्न खोजेपछि हवाइ फायर गरिएको उनले जनाए ।

घटनामा भारतीय सीमा सुरक्षा बल पनि आएर भारतीयलाई रोकेको उनको भनाइ छ । भारतीय नागरिकले सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षा कर्मीसहित अस्थायी पोस्टमा आक्रमणको प्रयास गर्न खोजेपछि सशस्त्र प्रहरीले प्रतिकारमा हवाइ फायर गरेको उनको भनाइ छ ।

सशस्त्र प्रहरीले एक राउन्ड हवाइ फायर गरेको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले पनि जानकारी दिए । सीमा क्षेत्रमा लगाएको मकै लिन आउने क्रममा सहमति विपरीत आएकोले घटना भएको उनले जनाए । घटनामा कुनै मानवीय क्षति भने नभएको उनको भनाइ छ । प्रहरीले हवाइ फायर गरेपछि उनीहरू त्यहाँबाट भागेका थिए । आइतबार (आज) यस विषयमा भारतीय एसएसबीसँग छलफल हुने उनको भनाइ छ ।

केही दिनअघि झापा गाउँपालिका ४ स्थित सुकुम्बासी बस्तीको १३१ नम्बर सीमा पिलर क्षेत्रबाट पनि भारतीयहरू नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको थियो । घटनाको भोलिपल्ट भारतीय एसएसबीको सहकार्यमा भारतीय नागरिकहरूले गल्ती स्वीकार्दै माफी मागेका थिए ।