संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–५ का कार्यवाहक वडाध्यक्ष श्यामप्रसाद निरौलामाथि खुकुरी प्रहार गर्ने २८ वर्षीय सुरेन्द्र तामाङलाई जिल्ला अस्पताल खाँदबारीले रिफर गरेको छ ।

मुटुसम्बन्धी बिरामी भएकाले अस्पतालले उपचार गर्न नसक्ने जनाएपछि उनलाई रेफर गरिएको हो । निरौलामाथि खकुरी प्रहार गरेको आरोपमा उनी शुक्रबार साँझ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी मिमबहादुर लामाले बताए । उनका अनुसार आरोपित तामाङलाई जिल्ला अस्पतालमा उपचार नहुने भएपछि प्रहरीको निगरानीमा रेफर गरिएको हो ।

पक्राउ परेसँगै बिरामी भएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको अस्पातालका सुचना अधिकृत शेखर अधिकारीले बताए । तामाङले पछाडीबाट खुकुरी प्रहार गरेका थिए । नेपाल पत्रकार महासंघ संखुवासभाका पूर्वअध्यक्ष समेत रहेका निरौलाको टाउँकोमा चोट लागेको छ । उनको टाउँकोमा गम्भिर चोट लागेपछि १० टाँका लगाइएको छ । घटना घटाइएको विषयमा हालसम्म खुल्न सकेको छैन ।

(यसअघि आराेपितकाे नाम सुरेश तामाङ पर्न गएकाले सच्याइएकाे छ । सं.)