विराटनगर /  विराटनगर महानगरपालिका १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा विराटनगर महानगरपालिका–४ ईक्राइका २४ वर्षीय वीरेन गडेरी (पाल)लाई प्रहरीले शनिबार विहान पक्राउ गरेको हो ।

पक्राउ परेका गडेरीलाई नियन्त्रणमा लिएर जवरजस्ती करणी मुद्दामा अदालतमा म्याद थप गरि अनुसन्धान सुरु गरिने मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । प्रहरीका अनुसार घर नजिकै एक जना साथीसँग किशोरी बिहान शनिबार ५ः३० बजेतिर हिँडिरहेकी थिइन् । त्यही बेलामा बाटोमा भेटिएका गडेरीले नियन्त्रणमा लिएर बालिकालाई नजिकैको मकैबारीमा पु¥याएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बालिकालाई कब्जामा लिएर मुख थुन्दै बोल्नसमेत नदिइकन बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफूसँगै रहेकी साथीलाई उठाउँदै काँधमा हालेर लगेपछि त्यहाँबाट चिच्याउँदै डरले भागेकी अर्की बालिकाले घटनाका बारेमा अभिभावक र स्थानीय बासिन्दालाई सुनाएकी थिइन् ।

त्यसपछि भेला भएका स्थानीयले बलात्कार गरेर भाग्दै गरेको अवस्थामा गडेरीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । बालिका बलात्कार गर्ने वीरेनका भाईहरु र अरु आफन्तले घटनास्थल मुचुल्का उठाउन प्रहरीलाई अवरोध गर्दै पीडितका आफन्त र घटनाका प्रत्यक्षदर्शीलाई आक्रमणको प्रयाससमेत गरेको डीएसपी राईले बताए । घटनामा संलग्न मध्ये २२ वर्षीय सुरेन्द्र गडेरी र २० वर्षीय विजय गडेरीलाई पक्राउ गरिएको राईको भनाइ छ । पक्राउ पर्ने दुवै जना बलात्कारमा संलग्न वीरेनका भाईहरु रहेको जानकारी प्रहरीले दिएको छ ।