धरान । सुनसरीको झुम्काबाट भक्तपुर पुगेकी स्टाफ नर्सलाई कसरी कोरोना भयो भन्ने विषय अहिले थप पेचिलो बनेको छ ।
लकडाउन अगाडि नै रामधुनी–४ लालपुरस्थित फुपूको घरमा बसेकी उनी भक्तपुरको आरोग्य अस्पतालमा हाजिर हुने बेलामा गरिएको परीक्षणमा कोरोना भएको पुष्टि भएको थियो । उनलाई कोरोना भएको पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएका १९ जनाको स्वाब संकलन गरी कोशी अस्पतालमा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा १८ जनाको रिपोर्ट नेगेटिभ (कोरोना संक्रमण नभएको) आएको रामधुनी नगरपालिकाका नगर प्रमुख जयप्रकाश चौधरीले जानकारी दिए ।
एक जनाको रिपोर्ट शंकास्पद आएपछि पुनः परीक्षणका लागि हालिएको छ । उनलाई कसरी कोरोना भयो भन्ने विषय खोजीको विषय भएको नगर प्रमुख चौधरीले बताए । ‘खोजको विषय होला, कताकता घुमेको थियो भन्ने सुनियो’ उनले भने । परिवारमा पनि सबैको रिपोर्ट नेगेटिभ आएको छ । उनका अनुसार शंकास्पद देखिएको रिपोर्टचाहिँ मोटरसाइकल बाहकको भएको हुनसक्छ । ‘एउटाचाहिँ शंकास्पद देखियो, मोटरसाइकलवालाको हो कि कसको हो ? रिचेक भइरहेको छ’–उनले भने ।
उनी ६ दिनअघि झुम्काबाट सरकारी पास लिएर मोटरसाइकलमा डिउटीमा हाजिर हुनका लागि भक्तपुर पुगेकी थिइन् । उनको साथीको रिपोर्ट पनि नेगेटिभ आएको छ भने उनलाई टेकु अस्पतालको आइसोलेसनमा राखेर उपचाररत रहेकी छन् ।