धरान । धरानको छाताचौकको एक मेडिकल सेन्टरले अण्डा बिक्री गरेको पाइएपछि सचेत गराएर छाडिएको छ ।

धरान उपमहानगरको अनुगमन समितिले टीकाराम चौधरीले सञ्चालनमा ल्याएको एनिमल मेडिसिन सेन्टरमा अण्डा बिक्री गरेको पाइएपछि सचेत गराएर छाडेको हो । नियमित अनुगमनको क्रममा आज बिहान (शनिबार) भेटिएपछि तत्कालका लागि सचेत गराएर छाडिएको अनुगमन अधिकृत वेदप्रकाश सापकोटाले जानकारी दिए ।

‘भित्रपट्टि सानो–सानो पसल रहेछ, अण्डा पनि बिक्री गर्दो रहेछ, हामीले नियमित अनुगमनमा भेट्यौं, आइन्दा बिक्री नगर्ने भनेपछि सचेत गराएर छाडिदिएका छौं’–उनले भने । अखाद्य वस्तुको पसलमा खाद्य वस्तु बिक्री गर्नु आफैमा पनि कानून विपरीत रहेकाले सचेत गराएर छाडिएको उनले बताए ।

‘फेरिफेरि बिक्री गरेको भेटिएमा कानून बमोजिम कारबाहीको दायरामा ल्याइन्छ’–उनले भने । उनका अनुसार केही दिनदेखि नै बिक्रीवितरण गर्दै आइरहेको भन्ने स्थानीय प्रत्यक्षदर्शीहरूले जानकारीसमेत गराएका थिए ।

नियमित अनुगमनको क्रममा आज धरान–१२ मा रहेका पुस्तक पसलहरू पनि अनुगमन गरेको छ । पुस्तक पसल खोलिरहेको भन्ने गुनासोका आधारमा अनुगमन गर्दा त्यस्तो नभेटिएको उनले बताए । पुस्तक पसललाई सोमबार र बिहीबार मात्रै खोल्न दिने गरी स्थानीय सरकारले व्यवस्था मिलाएको छ ।

पुस्तक पसल खोल्न दिने नीति भने केन्द्रीय सरकारको हो । स्थानीय सरकारले भने सातामा दुई दिन खोल्न दिने र सामाजिक दूरी कायम राख्ने व्यवस्था मिलाइएको छ ।