पथरी /  इलाका प्रहरी कार्यालय पथरीले जंगली जनावर बदेंल र हरिणको मासुसहित तीन जनालाई पक्राउ गरेको छ । अन्य दुईजना फरार भएका छन् ।

पथरीशनिश्चरे– १० स्थित त्रिवेणी चोकका ३२ बर्षीय भीमबहादुर लिम्बू, ३० बर्षीय प्रकाश लिम्बू र ३० बर्षीय रबिन राईलाई प्रहरीले चैत ३१ गते पक्राउ गरेको हो । घटनामा संलग्न दुईजना फरार व्यक्तिको नाम भने प्रहरीले सार्वजानिक गरेको छैन् ।

पथरी जंगलमा अवैधरुपमा सिकार गरी ल्याएको बदेंल र हरिणको मासु बाँडफाँड गर्ने क्रममा विवाद हुँदा छुरी हानाहान भएको थियो । छुरी हानाहान पछि एक जना गम्भीर घाइते भएपछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए । प्रहरीले त्रिवेणी चोकको घटना स्थलबाट पक्राउ गरेपछि बदेंल र हरिण मारेर ल्याएको मासुमा झगडा भएर छुरी हानाहान भएको रहस्य खुलेको डिएसपी दिलिपकुमार गिरीले बताए ।

मासु भाग लगाएर सबैले लगिसके पछि केही मासु पकाएर मदिरासंग खाने क्रममा उनिहरुको झगडा भएको र उहिीरुको साथबाट अन्दाजी एक केजी बदेंल र एक केजी हरिणको मासु बरामद गरेको डिएसपी गिरीले बताए ।
समूहका भीमबहादुर लिम्बुले ३७ बर्षीय पुर्नबहादुर लिम्बुलाई छुरी हानेका थिए । छुरीले लिम्बुको घाटीमा नशा काटीए पछि विराटनगरस्थित हस्पिटलमा उपचार भैरहको प्रहरीले जनाएको छ । तीनै जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको डिएसपी गिरीले बताए ।

अवैध सिकार गरी ल्याएको हरिण र बँदेलको मासु सब–डिभिजन वन कार्यालय पथरीलाई प्रहरीले बुझाएको छ । अहिले लकडाउनका कारण जंगलमा सिकार खेल्नेको संख्या बढ्न थालेको छ । अहिले चोरी सिकारी बढ्न थालेछि सामुदायिक वनहरुले घाँस लगायत अति आवश्यकीय वस्तु लिन बिहान १० बजेसम्म मात्र सूचना जारी गरेको हरियाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष काबुलबहादुर मगरले बताए ।