काठमाडौं ।  सस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भएसँगै भ्रमण बर्ष २०२० मनाउन लागेका मन्त्री योगेश भट्टराई कोरोनाले पर्यटन क्षेत्र थलिए पनि आगामी दिनमा पर्यटन क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ भनेर छलफलमा व्यस्थ छन् । आगामी जेठ १५ मा आउने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटबाट आगामी एक दशकलाई ‘भ्रमण दशक’ घोषणा गरिने गरि तयारी थालेको बताएका छन् ।

हरेक वर्ष विधागत रुपमा प्राथमिकताका साथ पर्यटन प्रवर्द्धनका योजना ल्याउन लागेको मन्त्री भट्टराईले बताएका छन् ।  कोरोना पछिको पर्यटनलाई पुनरुद्धार गर्ने योजनासहित भ्रमण दशक घोषणा हुने उनको भनाई छ ।

यस्ता छन् उनका योजना
पर्यटन प्रवद्धनका लागि कर्मचारीका लागि पर्यटन विदाको अवधारणालाई निरन्तरता दिने उनको योजना छ । आगामी आर्थिक वर्ष २०७७÷०७८ मा समेत पर्यटन बिदालाई बजेटमा समावेश गरिने उनले बताए । यसबाट करिव २० लाख आन्तरिक पर्यटक घुमघाममा निस्कने वातावरण बन्ने छ ।

पर्यटनका तीन वटै राष्ट्रिय गौरवका आयोजनाले आगामी वर्ष बजेट पाउने गरि नीति तथा कार्याक्रम बन्दैं छ । मन्त्री भट्टराईका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षबाट सञ्चालन गर्ने योजना छ । पोखरा विमानस्थलसमेत आगामी आर्थिक वर्षको अन्तिममा निर्माण सम्पन्न भइसक्ने छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको भने निर्माण शुरु गर्ने गरी बजेट छ्ट्याइने छ ।

सवारी साधन खरीद, फर्निचर, भ्रमण, भत्ता, बैठक, गोष्ठीका धेरै जसो कार्यक्रम यो वर्ष रद्द गरिने उनले बताए । अर्थ मन्त्रालयबाट पनि सिलिङमा कस्ने काम भइरहेको छ । अनावश्यक कार्यक्रमबाट खर्च कटौती गरि पर्यटन पूर्वाधार कार्यमा खचै गरिने मन्त्री भट्टराईले जानकारी दिए ।

कोरोना भाइरसको विश्वव्यापी महामारीबाट सबैभन्दा बढी पर्यटन व्यवसायी प्रभावित भएका छन् । उनीहरुका लागि मन्त्री भट्टराईले आर्थिक प्याकेज ल्याउन तयारी गरेका छन् ।
बिना धितो ऋण, ब्याजदरमा कटौती, ऋण लिँदा गर्न सकिने सहजिकरण, ऋणको पुनर्तालिकीकरणलगायत विविध उपायबारे पर्यटनले अर्थ मन्त्रालयसँग समन्वय गरिरहेको मन्त्री भट्टराईले जानकारी दिए ।