विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेको उदयपुर त्रियुगा नगपालिका ३ भुल्केबाट संक्रमित भएर आएका थप ८ जना कोरोना निको भएपछि डिस्चार्ज भएका छन् । पहिलो, दोस्रो र पछिल्लो तेस्रो पटकको पिसिआर प्रविधिबाट गरिएको स्वाब परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि शुक्रबार डिस्चार्ज गरिएको हो ।
डिस्चार्ज हुनेहरुमा उदयपुरका अजाद आलम, मो. परबेज आलम, मुख्तार मियाँ र रौसन खातुन, विराटनगरका आइमुन मियाँ र इजरायल मिया तथा भारतीय नागरिक मो. आदिम छन् । डिस्चार्जपछि पनि उनीहरु क्वारेन्टाइनमा बस्नुपर्ने कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. संगिता मिश्राले जानकारी दिइन् । डिस्चार्ज भएकाहरुलाई इम्युनिटी पावर बढाउने आयुर्वे्दिक औषधि दिएर पठाइएको छ । डिस्चार्ज भएकामाध्ये ७ जनालाई विराटनर रानी स्थित मस्जिदको क्वारेन्टाइनमा राखिनेछ भने उदयपुर भुल्केकी महिलालाई घरमै क्वारेन्टाइनमा बस्नेगरी पठाइएको छ ।
भुल्केको मस्जिदमा बसेका भारतीय जमाती एक जना, मस्जिदमै रहेका विराटनगर १७ का २ जना र एक महिलासहित भुल्केका स्थानीय ५ जना डिस्चार्ज भएका हुन् । उनीहरुमा बैशाख ८, ९ र १० गते संक्रमण पुष्टि भएपछि उपचार केन्द्रमा ल्याइएको थियो ।
चिकित्स्कीय निगरानीमा रहेका उनीहरुले कुनै औषधि सेवन नगरी आफ्नै रोग प्रतिरोध क्षमताले कोरोना परास्त गरेको अस्पतालले जनाएको छ । प्रदेश १ मा भेटिएका ३१ संक्रमितमध्ये १४ जना डिस्चार्ज भएकोले अब अस्पतालको आइसोलेसनमा १७ जना रहेका छन् ।
अस्पतालबाट कोरोनामुक्त भएकाहरुलाई केही समय क्वारेन्टाइनमा राखिनेछ । यसअघि बुधबार डिस्चार्ज भएका ६ जनालाई विराटनगरस्थित रानी मरकजमा क्वारेन्टाइनमा राखिएको छ । डिस्चार्ज भएकाहरूलाई अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विदाइ गरेका थिए ।