धरान । कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनले यसपटक किरात समुदायले भिडभाड नगरी सामान्य विधिअनुसार पूजा गरेका छन् ।

धरान–१४ को विजयपुरको हाङ बुद्धिकर्ण रायको भग्नाशेष दरबारमा पुगेर किरात राई यायोक्खा सुनसरीले सामान्य विधि पु¥याएर पूजा गरेको हो । पूजामा किरात राई यायोक्खाका निवर्तमान केन्द्रीय अध्यक्ष एवम् धरान उपमहानगरका प्रमुख तिलक राई समेत उपस्थित रहेका थिए । हरेक वर्ष बुद्धिकर्ण रायको दरबारबाट साकेला उभौलीको विधिवत सुरुवात गरिँदै आएको थियो ।

तर, यस वर्ष लकडाउनका कारण भिडभाड नर्गन सरकारले रोक लगाएका कारण सामान्य विधि पूरा मात्रै गरिएको जिल्ला अध्यक्ष बलराम राईले जानकारी दिए । किराया सुनसरीले विगत वर्षहरूमा पन्ध्र दिनसम्म साकेला उभौली र उधौली गर्दै आएको थियो । मङ्सिरे पूर्णिमाको दिन उधौली गर्ने चलन छ । वैशाखे पूर्णिमामा उभौली मनाउने चलन छ ।

यस वर्ष किराया सुनसरीले घरघरमै पूजा अर्चना गर्नका लागि आग्रह गरेको थियो । वैशाख १५ गते बसेको किराया सुनसरीको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । हरेक प्राकास, भातृ संस्थाहरूलाई विधिवत रूपमा पूजा गर्न आग्रह गरिएको थियो । प्रकासहरूले पनि आआफ्नो क्षेत्रमा पूजा गर्दै साकेला सिली नाच्ने गरेका थिए । यस वर्ष धरान–१३ नम्बर प्राकासले पनि सामान्य विधिमा पूजा गरेको छ ।

धरान उपमहानगरका नगर प्रमुख तथा निवर्तमान अध्यक्ष राईले साकेला उभौलीको शुभकामना दिँदै कोरोनाका कारण यसपल्ट सामान्य तरिकाले मात्रै उभौली मनाउन आग्रह गरे । कार्यक्रममा किराया सुनसरीका पदाधिकारी तथा संस्कार गर्नका लागि पुजारीहरू सहभागी रहेका थिए ।