धरान । पर्सा जिल्लाको वीरगञ्जमा कोरोना भाइरसको उपचार गरेर घर फर्किएका दुई जनामा पुनः कोरोना पोजेटिभ देखिएको छ ।
गत चैतमा कोरोना पोजेटिभ देखिएका दुई जना युवाको दुई पटक कोरोना संक्रमण नभएको –नेगेटिभ) रिपोर्ट आएपछि घर पठाइएको थियो । उनीहरू वैशाख १४ गते घर पठाइएको थियो । तर, उनीहरूमा पुनः कोरोनाको लक्षण देखिएपछि उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको छ । नेपालमा कोरोना संक्रमण भए उपचारपछि निको भएर घर फर्किएका मध्ये पुनः कोरोना संक्रमण भएर तीन जना भर्ना भएका छन् ।
यसरी डिस्चार्ज हुनेमा वीरगञ्जका दुई र नेपालगञ्जका एक युवा रहेका छन् । उपचारपछि निको भएर फर्किएकामा पोजेटिभ देखिएको नारायणी उपक्षेत्रीय अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए । उनका अनुसार पुनः कोरोना देखिनेमा एक भारतीय मुस्लिम नागरिक र अर्का रौतहतका १९ वर्षीय किशोर छन् । भारतीय नागरिकलाई ३० चैतमा र किशोरलाई वैशाख १ गते कोरोना पुष्टि भई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको थियो । उनीहरू दुवैलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
नेपालगञ्जमा पुनः देखिएका युवालाई पनि आइसोलेसनमा राखेर उपचार भइरहेको छ । नेपालमा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ८२ पुगेको छ । त्यसमध्ये १६ जना उपचार पछि निको भएर घर फर्किएका थिए । तर, ३ जना पुनः कोरोना संक्रमण भएको पाइएपछि उनीहरूलाई पुनः अस्पताल भर्ना गरिएको छ । नेपालमा कोरोनाका कारण मृत्यु नभए पनि विदेशमा रहेका नेपालीहरूको कोरोनाकै कारण ज्यान गइसकेको छ ।