धरान । नेपालमा थप १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालगञ्जमा ९ र वीरगञ्जमा एक गरी १० जनामा कोरोना संक्रमण भएको जनाएको छ ।
नेपालगञ्जमा ५ जना पुरुष छन् भने ४ जना महिला छन् । उनीहरूको उमेर ७ वर्षदेखि ५८ वर्षसम्म रहेको मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् जनकारी दिएको छ । त्यस्तै आइतबार नै पर्साको वीरगञ्जमा पनि एक जना पुरुषमा कोरोना संक्रमण भएको छ । वीरगञ्ज–३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । नेपालमा दोस्रो पटक दोहोरो अंकमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यसअघि उदयपुरको भुल्केमा एकै दिन १२ जनामा कोरोना भएको पुष्टि भएको छ ।
योसँगै नेपालमा ६९ जना कोरोनाबाट संक्रमित बनेका छन् भने १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् । प्रादेशिक रूपमा प्रदेश १ मा सबैभन्दा बढी कोरोना संक्रमित रहेका छन् । आइतबार रौतहट घर भएका एक युवालाई फेरि अस्पताल भर्ना गरिएको छ । उनी उपचार पछि घर फर्किएका व्यक्ति हुन् । उनलाई पुनः कोरोनाका आशंका गरिएको छ ।