धरान । कोरानो भाइरसको संक्रमणका कारण भारतीय लोकपालका न्यायिक सदस्यको मृत्यु भएको छ ।
सदस्य अजकुमार त्रिपाठीको कोरोना संक्रमणका कारण मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनलाई अप्रिल २ तारिखमा स्वास्थ्य समस्या आएपछि दिल्लीस्थित एम्स अस्पतलामा भर्ना गरिएको थियो । ६२ वर्षीय त्रिपाटीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
तीन दिनदेखि स्वास्थ्य अवस्था गम्भीर रहेका उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । भारतीय समय अनुसार उनको शनिबार राति पौने ९ बजेतिर निधन भएको हो । उनको छोरी र भान्सेलाई पनि कोरोना भएको पुष्टि भएको छ । तर, उपचार पछि उनीहरू निको भएका छन् । त्रिपाठी छत्तीसगढ उच्च अदालतका पूर्व मूख्यन्यायाधीश समेत हुन् ।
सन् २०१९ को २७ मार्चमा उनलाई कानून मन्त्रालयले लोकपाल सदस्यमा नियुक्त गरेको थियो । त्यसपछि उनले उच्च अदालतको मुख्य न्यायाधीशबाट राजीनामा दिएका थिए । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ३२२ पुगेको छ । शनिबार मात्रै ९४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।