ब्लाष्टखबर । अमेरिकाको औषधि सम्बन्धी नियामक निकाय फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन ( एफडिए) ले कोभिड १९ को आपतकालीन उपचारका लागि परिक्षण गर्न एण्टी भाइरल औषधि रेमडेसिभिरलाई अनुमति दिएको छ ।

सो औषधिको उत्पादक अमेरिकी कम्पनी गिलेडले उक्त रेमडेसिभिर संक्रमितहरुको उपचारका लागि १५ लाख भायल उपलब्ध गराउने जनाएको छ । २ लाख ३० हजार भन्दा बढीको ज्यान लिइसकेको कोभिड १९ सँग लड्न यो नै अहिलेसम्मको पहिलो औषधिको रुपमा देखा परेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भवनमा शुक्रबार एफडिएका आयुक्त स्टिफन हानसँगै बसेर घोषणा गदै भने ‘ यो औषधि अस्पताल भर्ना भएका कोभिड १९का संक्रमितहरुका लागि उपलब्ध हुनेछ । ’ आपतकालीन स्वीकृति प्राप्त भएसँगै अमेरिकी सरकारका संक्रामक रोग विशेषज्ञ एन्थोनीले फाउसीले यो औषधीको परिक्षणप्रतिको परिणाममा अत्यन्तै सावधानी पूर्वक आशावादी रहेको कुरा ब्यक्त गरे ।

‘रेमडेसेभिरको प्रयोगबाट निको हुने समय छोट्टिएकोले महत्वपूर्ण र सकारात्मक प्रभाव परेको तथ्यहरुले बताएको छ ’ फाउसीले यसै हप्ताको सुरुमा भनेका थिए, ‘ यो औषधिले कोरोना भाइरसलाई रोक्न सक्छ भन्ने प्रमाणित भएको छ ।’ सरकारी तहबाट भएको प्रारम्भिक अध्ययनबाट गिलेड साइन्सेसबाट निर्मित उक्त रेमडेसिभिरको प्रयोगबाट संक्रमितहरुको निको हुने समयलाई ३१ प्रतिशतले अर्थात ४ दिनले छोट्याएको परिणाम निस्किएकाले एफडिएले अनुमति दिएको हो ।

यो औषधि दिइएका विरामीहरु अन्य विरामी जसलाई यो औषधि दिइको थिएन भन्दा ४ दिन अघावै अर्थात ११ दिनमै निको भएका थिए । उक्त औषधीले मृत्यु दरलाई पनि घटाउदै लैजाने विश्वास गरिएको छ तथापी यो आंशिक परिणामबाट ढुक्क हुन नसकिने समेत बताइएको छ । फाउसीका अनुसार गम्भीर रुपमा संक्रमण भएका विरामीहरुलाई मात्र यो औषधिको प्रयोग गरिएको थियो । मध्यम र सामान्य अवस्थाका विरामीहरुलाई यो औषधि प्रयोग गरिएको छैन ।

एफडिएले शिघ्र र द्रुत गतिमा सार्वजनिक स्वास्थ्यको लागि औषधिको परिक्षण अरु औषधी जन्य उत्पादनका लागि आफनो संकटकालीन अधिकारको प्रयोग गरी अनुमति दिएको हो । अरुबेलाको सामान्य समयमा भने एफडिएले औषधीको प्रभाव, यसको सुरक्षा पक्ष र विरामीहरुको सफल उपचारका आधारमा प्राप्त वस्तुपरक प्रमाणहरुका आधारमा मात्र अनुमति दिने गरेको छ ।

अहिलेसम्म कोरोनाको कुनै औषधिको अनुमति नभइरहेको बेला रेममडेसिभिरले अझै पनि औपचारिक अनुमति लिन आवश्यक भएको बताइएको छ । रेमडेसिभिरको प्रभावकारिता र सुरक्षित छ भन्ने अतिरिक्त तथ्यांक गिलेड साइन्सेसले पेश गर्यो भने मात्र एफडिएले पूर्ण अनुमति दिन सक्छ ।