उर्लाबारी / उर्लाबारी नगरपालिका –३ स्थित मंगलबारे अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि स्वाब कलेक्सन बुथ राखिएको छ ।
मदन भण्डारी स्मृति प्रतिष्ठान र राष्ट्रिय युवा संघ नेपाल मोरङको सहयोगमा मंगलबारे अस्पताल परिसर भित्र स्वाब संकलन गरिने बुथ शुक्रबार राखिएको हो । चिकित्सकको सुरक्षा व्यवस्थालाई ध्यानमा राखि स्वाब संकलन र विरामी जाँचमा बुथले ठूलो सहयोग मिल्ने मंगलबारे अस्पतालका निमित मेडिकल सुपरिटेन्डेण्ट डा. योगशकुमार मण्डलले बताए । उनले कोरोना भाइरसको आशंका लागेका विरामीहरुको स्वाब कलेक्सनका लागि निर्माण गरिएको बुथ प्राप्त भएकोले स्वाब कलेक्नसन गर्दा चिकित्सक एवं स्वास्थ्यकर्मीलाई हुने संक्रमणको जोखिमबाट जोगाउने उनले बताए । त्यस्तै यसको प्रयोगबाट स्वास्थ्यकर्मीले लगाउने पीपीइ लगायतका अन्य स्वास्थ्य सामग्रीको बचत हुने समेत बताए ।
स्वाब कलेक्सन बुथ पाएसँगै अस्पतालले कोरोना भाइरसको संक्रमणको आशंका गरिएका बिरामीहरुलाई पनि राम्रो सेवा दिन सक्ने उनले बताए । स्वाब संकलन गरेपछि मंगलबार अस्पतालले परीक्षणको लागि विराटनगरस्थित कोशी अस्पतालमा र धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान पठाउने गरेको छ । स्वाब कलेक्सन बुथ उपलब्ध गराउँदै मदन भण्डारी स्मृति प्रतिष्ठानका सहसचिब अग्नी भट्टराईले अस्पतालले सुरक्षित रुपमा बिरामीको स्वाब कलेक्सन गर्न यसले सहयोग र्पुयाउने बताए । राष्ट्रिय युवा संघ नेपाल मोरङका अध्यक्ष नविन पौडेलले स्वास्थ्यकर्मी र बिरामी दुवैलाई संक्रमणको जोखिमबाट जोगाउन यसले सहयोग गर्ने बताए । बुथमा प्रयोग गरिएका सामग्रीहरु गुणस्तरीय रहेको र बुथ भित्र राम्रोसँग हावा पास हुने व्यवस्थालाई सुरक्षित बनाइएको बताइएको छ ।