यासोक । पाँचथरको मिक्लाजुङ गाउँपालिका २ सराङडाँडास्थित बतासेमा वैशाख ७ गते झुण्डिएको अवस्थामा एक महिलाको शव फेला प¥यो । जिल्लाको कुम्मायक गाउँपालिका १ खाल्डेबाट विवाह गरी मिक्लाजुङ गएकी २४ वर्षीय मुना पौडेलको झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

शंकास्पद तवरमा पौडेलको शव फेला परेपछि माइती पक्ष र स्थानीयवासीले हत्या गरी झुण्डाएको आरोप लगाएका छन् । लामो समयदेखि मानसिक र शारीरिक पीडा दिने गरेको र झुण्डिएको शवको शरीर र अनुहारमा चोटपटक देखिनुले हत्या गरेको पीडित परिवार र समाजको आरोप छ ।

दुई सन्तानकी आमा र सात महिनाको गर्भवतीसमेत रहेकी पौडेलको शव घर नजिकै टाँकीको रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । सासुससुरा र श्रीमान्ले नराम्रो व्यवहार गर्ने गरेको भन्दै लामो समयदेखि स्थानीय समाज र माइतीपक्षसँग हारगुहार गर्दै आएको स्थानीयबासी बताउँछन् । परिवारमा विवाद भएपछि सासुससुरासँग छुटिएर एउटै घरको कोठामा पौडेल दम्पती बस्दै आएका थिए । एउटै घरमा कोठा बारेर बस्दै आए पनि श्रीमान्, सासुससुराले याताना दिने गरेको भन्दै माइती र स्थानीयसँग गुनासो गर्दै आएको स्थानीयवासी जसोदा अधिकारीले सुनाइन् । ‘पटकपटक गाउँ समाज बसेर बुहारीलाई राम्रो व्यवहार गर्न धरै पटक कोसिस ग¥यौं तर केहीसिप लागेन अहिले आएर यस्तो घट्ना भयो’–उनले भनिन् ।

अर्की स्थानीय रूमादेवी अधिकारी भन्छिन्, ‘दिनभरि घरमा काम गर्छु, खान पनि दिँदैनन् उल्टै शारीरिक र मानसिक याताना दिन्छन्, अन्नपात नदिएपछि गाउँमा मागेर खाने गरेको छु, घरमा पानीको धारा हुँदा पनि छिमेकीको घरबाट पानी बोक्नु पर्छ भन्दै सुनाउँथिन्’ । उनले थपिन्, ‘मलाई मार्छन् होला भन्थिन् यस्तो होला भनेर कल्पना पनि गरेको थिइन् कहिलेकाहीँ मीठोमसिनो पकाएको बेला बोलाएर खुवाउँथे ।’

अधिकारी परिवारले दिएको याताना खप्न नसकेर छोरी भागेर माइती आउने गरेको आमा दिलमाया पौडेल बताउँछिन् । उनले भनिन्, ‘घरमा खटाएर एकएक मानो चामल दिन्छन् । श्रीमान्को पनि भर छैन, आमा दिनरात बनी गरेर खानु पर्छ, मलाई सहन गाह्रो भो भन्दै रुन्थी । छोरीको हालत देखेर अब चाहिँ घरमै राख्नु प¥यो भन्ने लागेको थियो ।’ तर वैशाख ३ गते ज्वाइँ आएर कुटपिट गर्दिन राम्रो गर्छु भन्नुभयो । त्यसपछि समाज बसेर कागज गरेर लानु भो । छोरी पनि खुसी थिई तर.... त्यसको तीन दिन बित्न नपाउँदै छोरी झुण्डिएको अवस्था फेला पर्दा ज्यूँदो लास बनेको छु’–भावुक हुँदै ब्लाष्टसँग भनिन् ।

तर यता अधिकारी परिवारले भने आरोप सरासर झुटो भएको दाबी गर्दै आएको छ । समाज र माइती पक्षले लगाएको आरोपमा कुनै सत्यता नभएको दाबी अधिकारी परिवारको छ । ‘हामीले छोराबुहारीलाई राम्रो व्यवहार गरेका थियौं’ ससुरा पूर्णबहादुरले भने, ‘छोराबुहारी छुटिएर बस्छौ भने मैले पनि घरको अर्को कोठामा छुट्याइदिए, सबै राम्रो थियो । अचानक यस्तो घटना भयो ।’ यता घटना घटेलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरले पौडेलका श्रीमान् जीवन अधिकारीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । उनकाे एक छाेरा र एक छाेरी साथै गर्भमा पनि छाेरा नै रहेकाे खुलेकाे छ । 

त्यस्तै माइती पक्षले घटनामा मृतकको शरीरमा निलडाम र चोटपटक देखिएको भन्दै थप अनुसन्धान गर्न प्रहरीमा किटानी जाहेरी दिएका छन् । मृतकको शव पोष्टमार्टमको लागि घोपा क्याम्प धरान पठाएको र रिपोर्ट आउँन बाँकी रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी सिद्धराज न्यौपानेले बताए । ‘प्रहरीले अनुसन्धान गर्दै आएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि बास्तविकता थाहा हुन्छ’–डिएसपी न्यौपानेले भने ।