धरान । सरकारले लकडाउन बढाएसँगै गृह मन्त्रालयले लकडाउनलाई थप कडा बनाउन जिल्ला प्रशासनलाई निर्देशन दिएसँगै जिल्लामा प्रहरी प्रशासन परिचालित भएका छन् ।

गृह मन्त्रालयले जिल्ला प्रशासनसँगै सुरक्षाका लागि प्रहरीको केन्द्रीय कार्यालयमा पत्राचार गरेसँगै सबैजिल्लाका प्रहरीहरू परिचालित बनेका हुन् । यसक्रममा धरान प्रहरीले सोमबार ८६ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले अपरान्हबाट अवज्ञा गर्नेहरूलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा ७८ जना पुरुष र ८ जना महिलालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

home_minister_paper

उनका अनुसार १९ वटा सवारी साधन पनि नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका सवारी साधन भने लकडाउन पछि मात्रै छाडिने भएको छ । नियन्त्रणमा लिएका महिला र पुरुषलाई भने राति ८ बजे मात्रै छाडिएको हो । गृह मन्त्रालयले जिल्ला प्रशासनमा सवारी पास लिएका बाहेक सबैलाई नियन्त्रणमा लिनका लागि सोमबार निर्देशन जारी गरेको थियो ।

नेपालमा कोरोनाबाट ५२ जना संक्रमित भएका छन् । १६ जना उपचारपछि निको भएर घरसमेत फिरिसकेका छन् । तर, पनि कोरोना समुदायमा फैलिँदै गएका कारणले गर्दा सरकारले थप लकडाउनलाई प्रभावकारी बनाउने निर्देशन दिएको हो । सरकारले वैशाख १५ गतेबाट थप १० दिनका लागि लकडाउन गरेको छ । इप्रका धरानका डिएसपी न्यौपानेले विभिन्न समयमा सचेत गराउने, माइकिङ गर्ने र सम्झाइबुझाई गर्दा पनि अटेर गर्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही चलाउन थालिएको बताए ।

भोलिबाट थप कडा गरिने डिएसपी न्यौपानेले जानकारी दिए । अटेर गर्नेहरूलाई ‘स्वीप’ गर्ने कार्य गरिरहेको छ । ‘स्वीप’ प्रहरी अप्रेसनमा जहाँ भेट्यो त्यहीँबाट उठाउने कार्यलाई भनिन्छ ।