धरान । सुनसरीको धरान–११ दुर्गाचोकमा ‘ओभर स्पिड’ का कारण आइतबार साँझ विशाल घिसिङको ज्यान गएसँगै प्रदेश १ भरि लकडाउनका बेला ९ जनाले ज्यान गुमाएका छन् ।
नेपाली काङ्ग्रेसका जिल्ला समिति सदस्य माधव घिसिङका एक्ला छोरा विशालको ‘ओभर स्पिड’ का कारण मोटरसाइकल अनियन्त्रित हुन पुग्दा गम्भीर घाइते बनेका थिए । को ३४ प १०३९ नम्बरको बजाज कम्पनीको ‘एनएस २०० सीसीको पल्सर मोटरसाइकल’ अनियन्त्रित बन्न पुग्दा उनी दुर्गाचोकको घरकाे पर्खालमा ठक्कर खान पुगेका थिए । उनकाे उपचारकाे क्रममा धरानकाे बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे हाे । लकडाउनका बेला यसरी नै ज्यान गुमाउने प्रदेश १ भरि ९ जना पुगेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी भीम दाहालले जानकारी दिए ।
उनका अनुसार प्रदेश १ का सुनसरी, झापा, मोरङ, ओखलढुङ्गा, ताप्लेजुङमा दुर्घटनाका कारण ज्यान गुमाएका छन् । जसमध्ये सुनसरीमा सबैभन्दा बढी ज्यान गुमाउनेहरू छन् । लकडाउनको अवधिमा सुनसरीमा ४ जनाले ज्यान गुमाएका छन् । सुनसरीमा पहिलो पटक चैत १५ गते इनरुवा–७ स्थित पूर्वपश्चिम लोकमार्गमा मे ९ प १८७२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको ज्यान गएको थियो । इनरुवा–६ का ५० वर्षीय रघुवीर कटुवालको मोटरसाइकलको ठक्करका कारण ज्यान गएको थियो । चैत १९ गते इनरुवा–६ मै को १ च ९६०५ नम्बरको एम्बुलेन्सको ठक्करबाट एक जना नर्सको ज्यान गएको थियो ।
को १६ प २०६४ नम्बरको स्कुटीमा सवार इनरुवा–६ मधेशाकी स्वास्थ्यकर्मी रत्ना श्रेष्ठको मृत्यु भएको हो । त्यस्तै चैत २१ गते वराहक्षेत्र–२ को भित्रिसडक खण्डमा को २ त १८३६ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकबाट ३५ फिट तल खस्दा सहचालक हरि थापाको घटनास्थलमै मृत्यु भएको थियो । सुनसरीपछि झापामा लकडाउन अवधिभरि दुई जनाको ज्यान गएको एसपी दाहालले बताए ।
उनका अनुसार लकडाउनको पहिलो दिन नै चैत ११ गते कमल गाउँपालिका–५ को भित्रीसडक खण्डमा मे १० प ७२३० नम्बरको मोटरसाइकलले पहिचान नखुलेको करिब ६०–६५ वर्षका वृद्धलाई ठक्कर दिएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो । ती वृद्धको हालसम्म पहिचान खुलेको छेन । त्यस्तै चैत २० गते कमल गाउँपालिका–४ मा केकुन सवारी साधनले ठक्कर दिँदा सिरहा सुखीपुर नगरपालिका–१ का ४५ वर्षीय पानो मण्डलको उपचारको क्रममा निधन भएको थियो ।
त्यस्तै मोरङमा चैत ११ (लकडाउनकै दिन) बेलबारी–१० मा पहिचान नखुलेको करिब ४०–४५ वर्षका व्यक्तिलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनामा सवारीसमेत पहिचान हुन सकेको छैन । अहिले सवारी र पहिचान नखुलेका मृतकको पहिचानका लागि अनुसन्धान भइरहेको छ । ओखलढुङ्गामा चैत ११ गते नै मानेभञ्ज्याङ गाउँपालिका–५ केरुङस्थित सिद्धिचरण लोकमार्गमा बा ६३ प ९३५५ नम्बरको मोटरसाइकलले ना ६ त ६३६० को ट्याक्टरमा ठक्कर लाग्दा मोटरसाइकलमा सवार पवित्रा राईको उपचारको क्रममा निधन भएको थियो । उक्त मोटरसाइकलमा तीन जना सवार रहेका थिए ।
त्यस्तै ताप्लेजुङमा चैत २३ गते फक्तालुङ गाउँपालिका–६ खेतीखोलास्थित दोभान– ओलाङचुङगोला निर्माणाधीन सडकखण्डमा सुख्खा पहिरोमा परी स्काइभेटर तमोर नदीमा खस्दा चालकको निधन भएको थियो । सुख्खा पहिरोका कारण सडकबाट १ सय मिटर तल तमोर नदीमा खस्दा चितवन सौराहाका २७ वर्षीय चालक चित्रकुमार गुरुङको घटनास्थलमै मृत्यु भएको थियो ।