धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र तयार भएकाे कोभिड १९ अस्पतालको मुख्यमन्त्री शेरधन राईले आज निरीक्षण गरेका छन् । कोरोना भाइरस संक्रमित विरामीको उपचारका लागि बनेको सय बेड आइसोलेसनसहितको कोभिड–१९ अस्पताल आजैदेखि संचालनमा आएको हाे ।

एक सातामा तयार भएको उक्त अस्पतालमा छुट्टै बच्चा वार्ड, मातृशिशु वार्ड, शल्यक्रिया , ल्यावलगायतको वार्डहरु तयार गरिएको छ । अस्पतालमा छुट्टै १३ बेड आइसियु पनि व्यवस्था गरिएको प्रतिष्ठानका सह प्रवक्ता डा. अशोक ऐरले जानकारी दिए । मुख्यमन्त्री राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सभामुख प्रदिप भण्डारीले प्रतिष्ठानकाे कोरोना उपचारको तयारी र अवस्थाबारे निरिक्षण गरे ।
कोरोना संक्रमणको परीक्षणका विषयमा डा. नारायण भट्टराईले मन्त्रीहरुलाई जानकारी गराएका थिए । प्रतिष्ठानमा पनि अटोमेटिक आरएनए मेसिन भए हालको परीक्षण क्षमता भन्दा तीन गुणा बढि टेष्ट गर्न सकिने डा.भट्टराईले जानकारी गराएका थिए । हाल प्रतिष्ठानमा दैनिक एक सयजनासम्मको परीक्षण गर्न सक्छ ।