संखुवासभा । जिल्लाको सभापोखरी गाउँपालिका–१ मा बेवारिसे हतियार फेला परेको छ । सभापोखरीस्थित सुनखानी सामुदायिक वनको ओडारमा प्रहरीले दुई थान बेवारिसे हतियार फेला पारेको हो ।

ओडारबाट दुई थान टुवेलबोर हतियार फेला परेको प्रहरी प्रमुख डिएसपी मिमबहादुर लामाले जानकारी दिए । कालो प्लास्टिक बेरिएको अवस्थामा दुई थान हतियार फेला पारेको उनले बताए । स्थानीयले ओडारमा शंकास्पद वस्तु देखिएको खबर गरेपछि धुपु प्रहरी चौकीबाट प्रहरी टोली खटिएको थियो ।

बेवारिसे टुवेलबोर हतियारको बटतर्फको भाग नभएको र दुई वटा नाल समेत पूर्णरूपमा खिया लागेकाले काम नलाग्ने भएको जनाइएको छ । प्रहरीका अनुसार हतियारको नम्बर समेत नबुझिने अवस्थामा रहेको बताइएको छ । हतियार शुक्रबार खाँदबारी ल्याइएको प्रहरीले जनाएको छ । हतियार सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।