खाेटाङ (रासस) हलेसी तुवाचुङ नगरपालिकाले ‘लकडाउन’का मारमा परेका विपन्न परिवारलाई वितरण गरिने राहत सामग्री तथा विपन्न परिवारको तस्वीर खिँच्न प्रतिबन्ध लगाएको छ ।

मुलुकभर विपन्न परिवारलाई राहत वितरण गरिएको तस्वीर खिँचाएर सामाजिक सञ्जालमा राख्ने चलनका बीच नगरपालिकाले तस्वीर खिँच्न रोक लगाएको हो । लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई उनीहरुको वडामै लगेर राहत सामग्री वितरण गर्न स्वयं वडाध्यक्षलाई जिम्मा दिइएको नगर प्रमुख इवन राईले बताए । “दुई÷चार छाक पुग्ने चामल र दुई पोका तेल बाँड्दै गरेको तस्वीर खिँचाएर जनतालाई हैरान बनाउनुहुँदैैन”, उनले भने, “नगरपालिकाले दिने राहतले उनीहरुको गर्जो टर्ने पनि हैन ।

थोरै सामग्री दिएर धेरै प्रचार गर्दा आफ्नो लोकप्रियता बढ्छ भन्ने सोच्नु गलत भएकाले तस्वीर खिँच्न रोक लगाइएको हो ।” नगरपालिकाले उपलब्ध गराउने राहत सामग्री वितरणका क्रममा नगरप्रमुख राई र उपप्रमुख विमला राई कुनै पनि वडामा पुगेका छैनन् । कोभिड–१९को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न आह्वान गरिएको ‘लकडाउन’का कारण आयमूलक काम गर्न नपाएपछि समस्यामा परेका ११ वटै वडाका विपन्न परिवारलाई नगरपालिकाले यही वैशाख ७ गतेदेखि खाद्यान्न वितरण शुरु गरेको हो ।