धरान । भारतको मुम्बईमा ५३ जना मिडियाकर्मीलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
समाचारका लागि फिल्डमा खटिएका ५३ जना मिडियाकर्मीलाई कोरोना संक्रमण भएको छ । वृहन्मुम्बई नगर निगम (बिएमसी) को भनाइ उदृत गर्दै आउटलुकले मुम्बईमा १७१ जना मिडियाकर्मीको नमूना संकलन गरिएको थियो । जसमध्ये ५३ जनाको संक्रमण भएको पुष्टि भएको छ ।
यो संख्या अझैँ बढ्न सक्ने बताइन्छ । संक्रमित हुनेमा पत्रकार, न्यूज च्यानलका क्यामेरामेन र फोटो पत्रकार छन् । बिहीबार र शुक्रबार उनीहरूको नमूना संकलन गरिएको थियो । कोरोना संक्रमण भएकाहरूलाई एक होटलको आइसोलेसनमा राखिएको छ । कोरोनाको संक्रमण सबैभन्दा बढी महाराष्ट्रमा देखिएको छ । हालसम्म ४ हजार २०४ जनामा कोरोना संक्रमण भइसकेको छ भने २२३ जनाको मृत्यु भइसकेको छ ।
मिडियाकर्मीलाई कोरोनाको संक्रमण हुनु दुर्भाग्यपूर्ण रहेको महाराष्ट्रका स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयका संयुक्त सचिव लब अग्रवालले बताएका छन् । उनले नियमित पत्रकार सम्मेलनमा भने, ‘मिडियाकर्मीलाई कोभिड १९ को संक्रमण हुनु एकदमै दुखद् खबर हो ।’ उनले मिडियाकर्मीहरूलाई खबर संकलनका लागि जाँदा कम्तीमा पनि सावधानी अपनाउनका लागि आग्रह गरेका छन् । उनले सामाजिक दूरी कायम गरेर सुरक्षा सावधानीका साथ समाचार संकलन गर्नका लागि आग्रह गरेका छन् ।
भारतमा कोरोनाभाइरस देखिएकाहरूमध्ये ८० प्रतिशतमा कुनै लक्षण नदेखिएको बताइएको छ । तर, स्वाबको परीक्षण गर्दा कोरोना भएको पुष्टि भएको छ । सचिव अग्रवालले ८० प्रतिशत कोरोना संक्रमितहरूमा कोरोनाको लक्षण देखिएको बताए । उनले एकदमै कममा मात्रै कोरोनाको लक्षण देखिएको बताएका छन् । उनले लकडाउनभन्दा अगाडिको संक्रमण दर र अहिलेको संक्रमण दर घटिरहेको बताए ।