खाँदबारी । संखुवासभको सिलिचोङ गाउँपालिकाले गाउँपालिकाको विपत व्यवस्थापन कोषमा सहयोग गर्न इच्छुकहरुलाई अपिल गरेएको छ । कोभिड १९ बाट बच्नकालागि पुर्व तयारी स्वरुप विपत व्यवस्थापन कोषमा आर्थिक रकम संकलन गर्न थालिएको हो ।
गाउँपालिकाको सबै जनप्रतिनिधीहरुले एक महिनाको सुविधा वापत आउने सम्पुर्ण रकम विपत व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय समेत गरेको छ । आईतबार बसेको गाउँपालिकाको बैठकले सवै जनप्रतिनिधीहरुको सुविधा वापतको रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
पाँच वटा वडा रहेको गाउँपालिकामा हाल २९ जना जनप्रतिनिधीहरु रहेका छन् । जनप्रतिनिधीहरुले एक महिनाको सुविधा आफुले नलिई सिधै राहत कोषको खातामा जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता नरभुपाल मेवाहाङले जानकारी दिए । बैठकले वडा नम्बर ३ प्रवेश गर्ने मागुवा दोभानमा पनि हेल्थ डेस्क राख्ने निर्णय गरेको छ ।
मागुवाको बाटो हुँदै मानिसहरु गाउँपालिका प्रवेश गर्ने भएकोले असुरक्षा बढ्ने भएको भन्दै सुरक्षाकर्मी सहित स्वास्थ्यकर्मीहरु राख्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले बताए ।
बैठकले पहिलो चरणमा राहत वितरण गरिएको खर्च पनि अनुमोदन गरेको छ भने गाउँ गाउँमा सचेतनाको कार्यक्रम तिब्र बनाउने निर्णय गरेको अध्यक्षकुलुङले बताए।