धरान । भारतको कोलकताको धार्मिकसभामा सहभागी भएर फर्किएका धरानका ७ जना मुस्लिम समुदायका व्यक्तिहरूलाई मोरङको टाँडीस्थित क्वारेन्टाइनबाट धरान ल्याइएको छ ।

धरान ल्याइएका उनीहरूलाई थप ७ दिनसम्म धरान–३ को जामेमस्जीदमा होम क्वारेन्टाइनमा राखिएको छ । धरान विभिन्न वडाका उनीहरू धार्मिकसभामा करिब २ महिना अघि भारतको कोलकता गएका थिए । लकडाउन पूर्व नै उनीहरू त्यहाँ गएका थिए । फर्किने क्रममा उनीहरूलाई विराटनगरले मोरङको कटहरीस्थित मस्जीदहरूमा राखेको थियो । त्यहाँबाट १४ दिनका लागि टाँडीस्थित क्वारेन्टाइनमा पु¥याइएको थियो ।

त्यहाँ १४ दिन बसेका उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएपछि धरान ल्याइएको अञ्जुमन इस्लामियाँका सचिव अफाक अहमदले जनाए । उनका अनुसार धरानका जनप्रतिनिधिको रहोबरमा उनीहरूलाई क्वारेन्टाइनबाट धरान ल्याइएको हो । धरानबाट ३ नम्बरका वडा सदस्य विकासकुमार बनेपालीसहितको टोली लिनका लागि पुगेको थियो । अब १ सातासम्म उनीहरू मस्जीदमा बस्नेछन् ।

उनीहरूको अवस्था बुझ्नका लागि धरान उपमहानगरका नगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी सुवेदी, इलाका प्रहरी कार्यालय धरान, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानको टोली पुगेको थियो । धरानका विभिन्न वडाका मुस्लिम समुदायका युवाहरू धार्मिकसभामा सहभागी बन्न भारत गएका थिए ।

muslim_dharan