धरान । बहुमुखी प्रतिभाका धनी साहित्यकार तथा कवि समालोचक उपेन्द्र पागलको निधन भएको छ ।

उनको ७७ वर्षको उमेरमा आफ्नै निवास सुनसरीको साविक मधेसा गाविसमै बुधबार अपरान्ह करिब २ बजेतिर निधन भएको हो । वास्तविक नाम उपेन्द्रबहादुर बस्नेत हो । उनको एक श्रीमती र छोरीहरू मात्रै रहेका छन् । बहुमुखी प्रतिभाका धनी उपेन्द्र पागल नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वतमान प्राज्ञसमेत हुन् । हालै इनरुवा प्रज्ञा प्रतिष्ठानको संयोजकसमेत रहेका पागलको कविता संग्रह, कथा संग्रह प्रकाशित भइसकेको छ ।

उनी चित्रकारसमेत हुन् । चित्रकार, निबन्धकार, समालोचक, कथाकारको छवी बनाएका उनले गीतसमेत लेखेका थिए । सञ्जीव धिमालको स्वरमा उनको गीत अहिले पनि एफएम तथा रेडियोहरूमा बज्ने गरेको छ । उनले कोरेका चित्रहरू अहिले पनि पिण्डेश्वरमा अवस्थित छन् । पछिल्लो पटक उराँव जातिको सांस्कृतिक अध्ययन नामक पुस्तक प्रकाशनको तयारीमा रहेका थिए । उक्त पुस्तकलाई धरानका साहित्यकार तथा समालोचक प्रा.डा. भीम खतिवडाले सम्पादन गरिरहेका थिए ।

उनलाई हालै इनरुवा नगरपालिकाले नागरिक अभिनन्दनसमेत गरेको थियो भने मोरङ बेलबारीस्थित बेलबारी साहित्य विकास समितिले ‘साहित्यिक परिक्रमा’ कार्यक्रममा सम्मानित समेत गरेको थियो ।