भद्रपुर । झापाका १५ वटै पालिकाले आ–आफ्नो स्थानीय तह भित्रका विपन्न नागरिकहरूको स्थलगत विवरण सङ्कलन गरी आवश्यक खाद्यन्य व्यवस्थापनको तयारी गर्न निर्देशन दिएका छन् । बिर्तामोड नगरपालिकाको कार्यालय र दमक नगरपालिकाको कार्यालयमा शनिबार बसेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको बैठकमा सबै स्थानीय तहले एक–एक वटा आइसोलेटेड एम्बुलेन्स तयारी अवस्थामा राख्ने, लकडाउनलाई प्रभावकारी बनाउन तथा टोल टोलका सूचनाहरू सङ्कलन गर्न टोल विकास समितिहरूलाई स्वयम सेवकको रूपमा परिचालन गर्ने, खाद्यन्य पसलहरू खुल्ला राख्ने व्यवस्था मिलाउने, तरकारी तथा फलफूल जस्ता खाद्यन्य सामग्रीहरू सकेसम्म घरघरमा पुर्याउने गरी आपूर्तिको व्यवस्थापन गर्ने, सबै प्रकारका स्वास्थ्य संस्था तथा अस्पतालहरू पुर्ववत रूपमा नै सञ्चालन गर्नका लागि व्यवस्थापन गर्ने निर्णय भएको छ ।

बैठकले प्रत्येक पालिकाले सुविधा सम्पन्न एक सय बेडको क्वारेन्टाइन पाँच दिन भित्र व्यवस्थापन गर्नुपर्ने, सुरक्षा निकायलाई आवश्यक पर्ने सवारी साधन, इन्धन र सुरक्षाकर्मीलाई आवश्यक पर्ने व्यक्तिगत स्वास्थ्य सुरक्षा उपकरणको व्यवस्था प्रत्येक स्थानीय पालिकाहरूले गर्ने, दमक नगर पालिका स्थित दमक अस्पतालमा न्यूनतम पाँच बेडको आईसोलेसन वार्ड स्थापना गर्ने निर्णय भएको अध्यक्ष पोर्तेलले बताए ।