धरान । बलिउडकी अग्रज कलाकार निम्मीको ८८ वर्षको उमेरमा निधन भएको छ ।

उनको बिहीबार घरमै निधन भएको हो । लामो समयदेखि बिरामी रहेकी उनी केही दिनयता श्वासप्रस्वासमा समस्या भएपछि एक अस्पतालमा भर्ना गरिएको थियो । उनको अन्तिम संस्कार हिजो (बिहीबार) गरिएको छ । उनको मृत्युको पुष्टि भने वित्तीय विश्लेषक कोमल नाहटाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् गरे ।

निम्मीको वास्तविक नाम भने नवाब बानो हो । फिल्म अभिनेता राज कपुरले उनको नाम निम्मी राखेका थिए । सोही नामबाट बलिउड उद्योगमा उनलाई चिनिथ्यो । उनलाई राज कपुरले नै फिल्मी उद्योगमा लिएर आएका थिए । उनी सन् १९४९ देखि १९६५ सम्म सक्रिय रहेकी थिइन् । त्यो अवधिमा ४८ वटा फिल्ममा अभिनय गरेकी थिइन् । उनले अभियन गरेको ‘आन, मेरे महबूब, बरसात, दाग, आँधियाँ, दिदार’ जस्ता फिल्मले बलिउडमा तहल्का मच्चाएको थियो । राज कपुरका अलवा उनी दीलिपकुमार, देवानन्दजस्ता हस्तीसँग फिल्म खेलेकी थिइन् । सन् १९४९ मा ‘बरसात’ बाट डेब्यु गरेकी थिइन् । जहाँ उनले एक गाउँले चरित्रमा आफ्नो अभियन गरेकी थिइन् ।

सन् १९३३ फेब्रुअरी १८ दिन जन्मिएका उनले लेखक अलि रजासँग विहे गरेकी थिइन् । जसको सन् २००७ मा निधन भइसकेको छ । उनको निधनमा थुप्रै बलिउड हस्तीहरूले शोक व्यक्त गरेका छन् । ऋषि कपुरदेखि फिल्ममेकर महेश भट्टसम्मले उनको निधनप्रति शोक व्यक्त गरेका थिए ।