धरान । लकडाउनको समयमा प्रहरीसँग समन्वय नगरी ग्यास वितरण गरेपछि ग्यास डिलरमाथि नै हातपात भएको छ ।

धरान ९ कलेज रोडस्थित सुविधा ग्यास वितरण गर्ने क्रममा ग्यास डिलरका सञ्चालक गोपाल मास्केका छोरामाथि हातपात भएको हो । स्थानीय दिपक बनेपालीका अनुसार ग्यास वितरण गर्ने क्रममा सञ्चालकको छोरालाई हातपात गरेका थिए । सञ्चालकको पनि कमजोरी रहेको उनले बताए । लकडाउन र कोरोनाको संक्रमणको जोखिम रहेको अवस्थामा प्रहरीसँग समन्वय गरेर वितरण गरेको भए समस्या नआउने उनले बताए ।

अतिआवश्यकीय वस्तु भए पनि प्रहरीसँग समन्वय नगरेको भन्दै ग्यास डिलरका सञ्चालकलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय धरानमा बोलाइएको छ । इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले लकडाउनको समयमा प्रहरीसँग समन्वय नगरी ग्यास वितरण गरी हातपातको अवस्था आएकाले सोधपुछका लागि नियन्त्रणमा लिएको बताए । ‘प्रहरीसँग समन्वय नगरी किन वितरण गरियो भनेर सोधपुछका लागि ल्याएका छौं’ उनले भने । उनका अनुसार २ सय ५० थान ग्यास आएको रहेछ ।