दमक/ जेडसिजीआइइसी–आशिष–प्रेरा जेभीले कमिसन लिएर स्थानीय कन्ट्रयाक्टरलाई ठेक्का दिएको खुलेको छ ।
जेभीले प्राप्त गरेका झापाका चारवटा ठेक्काहरू स्थानीय ‘घ’ वर्गका ठेकेदार कम्पनीलाई ९ करोड कमिसन लिएर ठेक्का दिएको खुलेको हो । कम्पनीले सवकन्ट्रयाक्टरसँग कमिसन खाएर निर्माणको जिम्मेवारी दिएको छ । ठेक्का दिँदा ‘क’ श्रेणीका कम्पनीलाई दिनुपर्ने प्रावधान लत्याएर ‘घ’ श्रेणीका झापाको कञ्चन निर्माण सेवा, विष्णु निर्माण सेवा र पशुपति इञ्जिनियरिङ एण्ड बिल्डर्सलाई निर्माणको जिम्मा दिएको हो ।
३ वटा कम्पनी मिलेर बनेको जेभीमा जेडसिजीआईएसी चाहिँ चिनियाँ कम्पनी हो । सवकन्ट्रयाक्टरलाई कमिसन लिएर आयोजना दिने कारण आयोजनाहरू प्रभावित बन्ने गरेको सडक विभागका पूर्वविभाग प्रमुख तथा परामर्शदाता भक्तराज शाक्य बताउँछन् । एडिबी अन्तर्गत झापामा चारवटा आयोजना चलिरहेका छन् । कमल गाउँपालिका–५ पाडाजुँगी चोकबाट दक्षिणतर्फको बाटो पाडाजुँगी–खजुरगाछी सडक–खण्ड दुई वर्षमा काम सक्ने गरी सम्झौता गरे पनि अहिलेसम्म ३० प्रतिशतमात्रै काम भएको स्थानीयबासी बताउँछन् । स्थानीय अम्विकाकुमारी बस्नेतले नियमित काम नगरेको बताइन् ।
त्यस्तै ११ दशमलव ५ किलोमिटर केर्खाको अमलडाँगी–सोलमारी रोडको अवस्था त्यस्तै रहेको कमल गाउँपालिका–१ नेपाली काङ्ग्रेसका उपाध्यक्ष राजन आचार्यले बताए । परियोजना कार्यान्वयन गराउने निकाय ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन एकाई कार्यालयका इञ्जिनियर विदुर पोखरेलले जेभीले लिएका समग्र सडकको ४३ दशमलव ५ प्रतिशत मात्रै काम पूरा भएको जनाए । ती सडकहरूको सम्झौता अवधि १ महिना १० दिन मात्रै बाँकी छ । काम नै सम्झौता भएको ६–७ महिनापछि मात्र शुरु भएको उनले बताए ।
समयमा सम्पन्न नभएमा निर्माण कम्पनीलाई जरिबाना गरिने उनले बताए । ज्वाइण्ट भेञ्चरमध्येको प्रेरा कम्पनीका प्रबन्ध निर्देशक प्रेम मल्लले झापाको कञ्चन निर्माण सेवाका केदार गिरीसँग सम्झौता गरेका छन् । ब्लाष्टलाई प्राप्त सम्झौता पत्रमा ठेक्का रकमको १३ प्रतिशत कम शुल्कमा काम गर्न कञ्चन निर्माण सेवा र पशुपति इञ्जिनियरिङ एण्ड बिल्डर्ससँग फरक–फरक सम्झौता गरेको पाइएको छ । पशुपतिसँग अमलडाँगी सोलमारी सडक–खण्ड निर्माणका लागि १३ करोड ६५ लाख ७१ हजार ७ सय ३३ रुपैयाँ र चारपाने राजगढ सडक निर्माणका लागि कञ्चनसँग १९ करोड ५४ लाख ४७ हजार ३ सय ४२ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।
त्यस्तै पाडाजुँगी खजुरगाछी सडक र खर्सङ्बारी अधिकारी चोक सडकमा विष्णु निर्माण सेवासँग सम्झौता गरेको छ । १० किलोमिटर लम्बाइको पाडाजुँगी खजुरगाछी सडकमा १२ करोड २८ लाख ७० हजार ७ सय ७४ रुपैयाँ र साढे ६ किलोमिटर लम्बाइको खर्साङ्बारी अधिकारी चोकसम्मको ७ करोड ३९ लाख ३८ हजार १ सय ५० रुपैयाँमा ठेक्का दिइएको छ ।
तर, जेभीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय विकास पूर्वाधार विभागसँग चारवटै सडकका लागि ६७ करोड ९३ लाख ७९ हजार ९ सय ९५ रुपैयाँमा सम्झौता गरेको देखिन्छ । जेभीले चारवटै सडकका लागि ३ वटा कम्पनीलाई ५२ करोड ८८ लाख ५४ हजार ९ सय ९९ रुपैयाँमा ठेक्का दिएको हो । जेभीले कामै नगरी ६ करोड ४० लाख ६५ हजार ३ सय ५४ रुपैयाँ फाइदा लिएको देखिन्छ । सरकारबाट प्राप्त हुने मूल्य वृद्धि शुल्कको १० प्रतिशत रकम २ करोड ५० लाख रुपैयाँसमेत गरी कुल ८ करोड ९० लाख रुपैयाँ नाफा गरेको छ ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन एकाई कार्यालयका कार्यालय प्रमुख शम्भु कार्कीले निम्नस्तरको निर्माण कम्पनीलाई मुख्य निर्माण कम्पनीले काम गर्न दिएको जानकारी आफूले पाएको बताए । यसबारे कम्पनीलाई पत्र काटेर सोधपुछ गर्दा ठेक्का नबेचेको आशय पत्र प्राप्त भएको बताए । मुख्य परामर्शदाता शाक्यले सवकन्ट्रयाक्टरसँग सम्झौता नतोडिएसम्म काम समयमा नहुने साथै गुणस्तरीय पनि नहुने सुझाव दिएको छ । यी चारवटै सडक प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।