बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित तक्षशीला एजुकेशन फाउण्डेशनले बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रमको तयारीका लागि नाच्दै गरेको अवस्थामा बच्चालाई हटाएर मानसिक यातना दिएको आरोप अभिभावकको छ ।

सोमबार नृत्यको रिहर्सल गरिरहेको समयमा तक्षशीला एजुकेशन फाउण्डेसनको कक्षा–१ मा अध्ययनरत ६ बर्षीया रौप्य पोखरेललाई बिद्यालयले रिहर्सल गर्नबाट रोक लगाएको थियो । रिहर्सल गर्न नपाएपछि आफ्नी छोरी रुँदै घर आएको अभिभावक दिपा पोखरेल बताएकी छन् । सञ्चालकको डरका कारण उनी मंगलबार बिद्यालय जान नमानेपछि अभिभावक आफैले पुर्याएर आएका थिए ।

बिद्यालयले मंगलबार बिविध सांस्कृतिक कार्यक्रम सहित बार्षिकोत्सब मनाएको छ । सोही कार्यक्रमको तयारीका लागि रिहर्सल गर्दै गर्दा पोखरेललाई बिद्यालयले हटाएको थियो । बिद्यालयले बार्षिकोत्सब कार्यक्रमका लागि अभिभावकलाई समेत निम्तो गरेको थियो । कार्यक्रमपछि फर्कदाँ बिद्यार्थी लिएर फर्किनुपर्ने शर्त पत्रमा थियो । अभिभावक गणेश पोखरेलले बिद्यालयलाई महिनाभरीको गाडीभाडा तिरिसकेकोले सधै जस्तै घर पुर्याउनु पर्ने जिकिर गरेको बताएका छन् । सोही बिवादपछि बिद्यालयले रिहर्सल गरिरहेकी बालिकालाई हटाएको पोखरेलको दावी छ ।

कोरोना संक्रमण हुने भयले सरकारले सभा, सम्मेलन र कुनै पनि भीडभाडको कार्यक्रम नगर्न निर्देशन दिएको छ । सोही निर्देशन बमोजिम बालबालिका अध्ययन गर्ने संवेदनशिल क्षेत्र बिद्यालयमा बार्षिकोत्सब गर्ने भन्दै भेला आयोजना गरिएकोमा अभिभावकको आपत्ति छ । बिद्यालयले अतिथिका रुपमा बोल्न दिएका अनमेश केसीले कार्यक्रम चुनौतीका बिच कार्यक्रम भब्य रुपमा सम्पन्न भएको बताएका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका पूर्व अभिभावक राजकुमार पोखरेलले पूर्व आईजीपी मोतीलाल बोहोराकी बुहारी श्रद्धा गिरीले पैसा कमाउन होइन, गुणस्तरीय शिक्षा प्रदान गर्न बिद्यालय सञ्चालन गरेको बताएका थिए । कार्यक्रममा अभिभावकलाई आफ्ना बालबालिकालाई आफैं आएर लानु होला, विहान हामी लान्छौं, बेलुका आफैंले लानु भन्ने उर्दीका कारण बाध्य भएर पुगेका थिए ।

बिद्यालयमा भब्य कार्यक्रम गर्न किन दिएको ? भन्ने प्रश्नमा विर्तामोडका नगर शिक्षा प्रमुख तीलचन भण्डारीले भने, ‘हामीले कार्यक्रम नगर्न पाँच दिनअघि नै भनेका हौं, मानेनन्, तपाईहरु आफैंले कुरा गर्नुहोला ।’