धरान/ पूर्व मिस नेपाल उषा खड्गीले वैवाहिक जीवनमा ब्रेक लगाउने निर्णय गरेकी छन् ।

जीपी तिमल्सिनासँगै १७ वर्षअघि वैवाहिक जीवनमा बाँधिएका खड्गीले एक टेलिभिजन अन्तर्वार्ताको क्रममा सम्बन्ध विच्छेदको चरणमा पुगेको बताइन् ।

केही समयअघिदेखि नै सम्बन्ध विच्छेदको चर्चा सुनिए पनि आधिकारिक रूपमा उनले हालै मात्रै सार्वजनिक गरेकी हुन् । उनले चाँडै नै सम्बन्ध अलग गर्ने घोषणा गरेकी छन् । सामाजिक सञ्जालमा भाइरल हुँदै आएको विषय पुष्टि भएसँगै अब भने आधिकारिक रूपमा उनीहरू फरक फरक जीवन बाँच्ने निर्णय गरेका छन् ।

उनले विभिन्न कारणले वैवाहिक जीवनमा ब्रेक लगाउन लागेको बताएकी हुन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेखेकी छन्, ‘सम्पूर्णमा माया र सहयोगका लागि धन्यवाद ।

तपाईँको साथ र तपाईँहरूको सहयोगले मलाई सधैं बलियो र आत्मविश्वास थप्नेछ । सँगै म र मेरा बच्चाहरूलाई दह्रिलो रूपमा उभिन ऊर्जा दिनेछ ।’ प्रेमलाई विवाहमा परिणत गरेका उनीहरूको सम्बन्ध दुई दशकपछि भने ब्रेक लाग्न लागेको हो । २०५४ सालमा उनीहरूको सम्बन्ध गाँसिएको थियो ।