गायक तुलसी शिवाकोटी विगत ९ वर्षदेखि युरोपमा छन् । युरोपमै रहेर उनले आफ्नो १८औँ गीत सार्वजनिक गरिसके । श्रम गर्न युरोप भासिएका झापाली गायक शिवाकोटी हाल जर्मनीमा बसोबास गरेर श्रमरत् छन् ।
झापाको सुरुंगा घर भएका उनी युरोपमा बसेर पनि नेपाली गीत संगीतको क्षेत्रमा अघि बढिरहेका छन् । उनी त्यहाँका नेपालीमाझ ‘सुपरस्टार’का रुपमा परिचित छन् । युरोपियन मुलुकहरुमा आयोजना हुने अधिकांश नेपाली सांगीतिक कार्यक्रममा उनी छुट्दैनन् । युरोपमा उनी ‘डिमान्डेड’ गायक हुन् । तुलसी आधुनिक तथा लोक पप गीत गाउन मन पराउँछन् ।
‘मेरो देश’, ‘प्यारी छोरी’, ‘म त मान्छे सिधासादा’, ‘राम्री’, ‘न बचाउन सकेँ’, ‘पिपल पाते ओठैले’, ‘हे माया’, ‘तिम्रो मेरो प्रेम कहानी’ लगायतका उनका गीत चर्चित छन् । गायक तुलसी युरोपमा रहेर समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । विभिन्न समयमा उनी नेपालका अनाथ असहायलाई आर्थिक सहयोग गरिरहन्छन् ।
‘आफ्ना सपना पूरा गर्न म परदेसिएँ, मेरो देश उतै छुट्यो, देशभित्रै देखेका सपना पनि उतै छुटे,’ उनी भन्छन्, ‘तर, सानैदेखिको संगीतमोह कहिल्यै छुटेन, आमाको पनि सपना म गायक भएको हेर्ने नै थियो ।’ स्नातकपछि पहिलो पटक वैदेशिक रोजगारीका लागि इजरायल गएका तुलसी त्यहाँका सांगीतिक कार्यक्रमहरुमा रमाउन थाले । इजरायलमा थुप्रै नेपाली प्रशंसक बटुले ।
इजरायल छाडेर युरोप प्रवेश गरेका उनले संगीतको सपना कहिल्यै छाडेनन् । सन् २०१२ बाट आफूले औपचारिक सांगीतिक यात्रा सुरु गरेको उनी सुनाउँछन् । हाल उनी प्रस्तुति दिन विभिन्न मुलुकहरुमा दौडिरहन्छन् ।
तुलसीले भर्खरै आफ्नो १८औँ गीत ‘भन्देउ मायाले’ सार्वजनिक गरेका छन् । गीतको म्युजिक भिडियो ओएसआर डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक भएको हो । डीपी खनालको शब्द र विश्व अधिकारीको संगीत तथा एरेन्जमेन्ट रहेको गीतको म्युजिक भिडियोमा भने नयाँ डान्स ग्रुप फ्युचर क्रु र अञ्जिता कँडेललाइ फिचरिङ गरिएको छ । भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।
https://www.youtube.com/watch?v=f32Oy7nl0sU&feature=youtu.be