यासोक/ पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक जिल्लाको पुरानो बजार हो । यहाँ फाल्गुनन्द, मिक्लाजुङ र तुम्बेवा गाउँपालिकाबाट हाटबजार भर्न स्थानीयवासी आउने गरेका छन् ।
प्रत्येक महिनाको ५, १५, २५ गरी तीन पटक हाटबजार लाग्छ । तर, बजार व्यवस्थित नहुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । बजारमा कुन व्यवसाय कहाँ राख्ने कुनै स्थान तोकिएको छैन । जुनसुकै व्यवसाय जहाँसुकै राखेर बेच्न मिल्ने अवस्था छ । गाउँपालिकामा व्यवसायीहरूको पक्षमा लागेको उद्योग बाणिज्यसङ्घ र यासोक बजार तदर्थ समिति यस विषयमा निष्क्रिय छन् । बजारको दुवै स्थानमा व्यवसायीले सहज रूपले समाग्रीहरू राख्न पाएका छैनन् । राखेको व्यवसाय पनि सहले बिक्री गर्न नपाएको उनीहरूको गुनासो छ ।
हाटबजारलाई वैज्ञानिक ढङ्गबाट व्यवस्थापन गर्ने विषयमा उद्योग वाणिज्य सङ्घ, बजार तदर्थ समिति र स्थानीय तहले समेत ध्यान दिएको पाइँदैन । प्रत्येक हटियामा स्थानीयको भीड हुन्छ । सोही भीडबाट निर्वाध रूपमा दैनिक सानादेखि ठुलासम्म सवारी साधन सञ्चालन ह्न्छन् । त्यस्तो अवस्थामा ठुलो जोखिम मोल्नुपर्ने हुन्छ, हटिया भर्न बजार पुगेका स्थानीय रामकुमार निरौलाले भने । उनी भन्छन्, टाढाबाट आएका व्यवसायीहरूको लागि धेरै समस्या छ ।
अगाडि पछाडि जहाँ पायो त्यहीँ व्यवसाय फिँजाएर राखिएको छ । सामान बेच्ने र किन्ने ठाउँको टुङ्गो हँुदैन । यसले गर्दा आफूहरूलाई समस्या भएको उनी सुनाउँछन् । बजारमा कृषकले मकै, कोदो, मस्याम, फलफूल, किराना पसल र तरकारीलगायतका बालीहरू बिक्रीका लागि राख्ने गरेका छन् । हटिया भर्न छिटो पुग्नेको लागि सहज हुने गरेको छ । तर, ढिलो पुग्नेको हकमा सामान राख्ने ठाउँको अभाव हुन्छ् स्थानीय बलबहादुर थापाले गुनासो गर्दै भने । हटियाको दिन बजारको बीचबाटै ट्रक, बस गुड्दा डर लाग्छ । यस्तो अवस्थामा जोगिनै समस्या हुन्छ । यस्तो भयबाट गाउँपालिकाले जोगाउनु प¥यो थापाले भने ।
एकातर्फ सवारी साधनको चाप र अर्कोतर्फ अव्यवस्थित हाटबजार यस्तो अवस्थामा व्यवसायीहरूले त्रासै त्रासमा हटिया भर्ने गरेका छन् । बजारमा सवारी साधनको पार्किङ स्थलको समस्या छ । हाटबजार व्यवस्थित गर्न गाउँपालिकाले कुनै चासो नदिएको व्यवसायीको गुनासो छ ।
यता कुम्मायक १ का वडा अध्यक्ष देवेन्द्रकुमार लावतीले हाटबजार व्यवस्थापनमा उद्योग बाणिज्य सङ्घ र बजार तदर्थ समितिको जिम्मेवार हुनुपर्ने बताएका छन । उनले सङ्घ र तदर्थ समितिले नसकेको खण्डमा मात्रै कार्यालयले सहयोग गर्छ । यस विषयमा नागरिकतहबाट कार्यालयमा कुनै गुनासो आएको छैन । गुनाएको आए यस विषयमा काम गर्छौं, उनले भने ।






























